प्रस, वीरगंज, १८ माघ/
मधेस प्रदेशको एकमात्र महानगर वीरगंज आर्थिक सङ्कटको सामना गरिरहेको छ ।

मुलुक नै आर्थिक सङ्कटबाट गुज्रिररहेको र यसको असर महानगरमा पनि परेको छ । गत वर्षको खर्च महानगरले धान्न सकेको छैन । करार, अस्थायी, दैनिक ज्यालादारीमा सात सय बढी कर्मचारी भर्ना गरेर आर्थिक भार बढाएको महानगरले घोषणा गरे अनुसारको आन्तरिक राजस्व सङ्कलन भने गर्न सकेको छैन । यद्यपि गत वर्षको तुलनामा राजस्व बढेको छ तर घोषणा भए अनुसार वार्षिक राजस्व लक्ष्य पूरा हुने अवस्था देखिएको छैन ।

आन्तरिक राजस्व लक्ष्य अनुसार सङ्कलन हुन नसकेको र सङ्घ तथा प्रदेश सरकारले दिने अनुदान सहयोग अहिलेसम्म नआउँदा महानगर आर्थिक सङ्कटमा परेको हो । चालू आवको सात महीना बित्न लाग्दा पनि सङ्घ सरकारले अनुदान सहयोग पठाएको छैन । प्रदेश सरकारबाट पनि घोषित अनुदान सहयोग प्राप्त भएको छैन । महानगरको आन्तरिक राजस्व छ महीनामा २६ करोडभन्दा बढी सङ्कलन हुन सकेको छैन ।

गत आवमा खर्च नभएको रु १६ करोड फिर्ता नगरिएको कारण कोष तथा लेखा नियन्त्रक कार्यालयले महानगरको खाता सञ्चालनमा लामो समयसम्म रोक लगाएको थियो । रकम फिर्ता गरेपछि खाता सञ्चालन भयो तर महानगर आर्थिक सङ्कटमा प-यो ।

आर्थिक सङ्कटको कारण महानगरले दैनिक ज्यालादारी र करारका कर्मचारीहरूलाई हटाउनुपरेको थियो भने पछिल्लो समय पौने दुई सय स्वयंसेवक शिक्षकलाई पनि हटाउनुपरेको थियो । यसको साथै महानगरले दैनिक कार्य सञ्चालनमा हुने खर्चमा पनि कटौती गरेको छ ।

रकम अभावमा महानगरपालिकाले समयमा भुक्तानी गर्न नसक्दा भेडाहा खोला तटबन्धको काम ठेकेदारले अलपत्र अवस्थामा पारेको छ । एक वर्षमा पूरा हुनुपर्ने तटबन्ध महानगरले ठेकेदारलाई भुक्तानी गर्न नसक्दा काम अड्किएको हो । तटबन्ध निर्माणको ठेक्का सकार रमण/विकास एन्ड ब्रदर्स जेभीले गरेको र महानगरले २०७९ भदौ २ मा सम्झौता गरी २०८० असारसम्म तटबन्धको काम पूरा गर्नुपर्ने थियो ।

रु २४ करोड ६३ लाखमा ठेक्का सकार गरेको निर्माण कम्पनीले तेस्रो र चौथो चरणको करीब दुई करोड रुपैयाँ भुक्तानी पाउन सकेको छैन ।

महानगरका प्रोजक्ट मैनेजरले गत असार २४ गते तेस्रोे बिलको रु ४९ लाख ३० हजार ९९५ भुक्तानीको लागि सिफारिश गरेको र निर्माण कम्पनीले भदौ २१ गते रु दुई करोडको चौथो बिल पेश गरेकोमा सात महीना बितिसक्दा पनि भुक्तानी अहिलेसम्म पाएको छैन ।

महानगरको आन्तरिक स्रोत वा सङ्घ, प्रदेश सरकारबाट सञ्चालित योजना सम्पन्न भएपनि महानगरले भुक्तानी दिएको छैन । महानगरको लेखाशाखामा भुक्तानी दिनुपर्ने फाइलहरूको चाङ बढ्दो छ तर भुक्तानी हुन सकेको छैन ।

कर्मचारी स्रोतका अनुसार यस अवधिमा अवकाशप्राप्त कर्मचारीहरूले दान, उपदानको रकम पनि पाउन सकेका छैनन् । करीब डेढ दर्जनभन्दा बढी अवकाशप्राप्त कर्मचारीले दान, उपदानको रकम नपाएको र उनीहरू दैनिक महानगर धाउँदै गरेको कर्मचारीहरू बताउँछन् ।

अवकाशप्राप्त पूर्वकर्मचारी सातौं तहका इन्जिनीयर राजेशकुमार चौरसिया, छैटौं पदमा कार्यरत अधिकृत निरञ्जन क्षत्री, सुनीलसागर डङ्गोल, भरतबहादुर थापा, गोपालप्रसाद मरहठ्ठा, मायानन्द देव, बबिता पौडेल, नाइके रामराज महतोलगायतका कर्मचारीहरूले अवकाश पाएको लामो अवधिमा पनि भुक्तानी पाउन सकेका छैनन् । उनीहरूले भुक्तानीका लागि पटकपटक निवेदन दिए पनि महानगर आर्थिक सङ्कटबाट गुज्रिरहेकोले भुक्तानी गर्न सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here