प्रस, परवानीपुर, १८ माघ/
वीरगंज महानगर–१७ स्थित द्वारदेवी माध्यमिक विद्यालयमा शुल्कको विषयलाई लिएर विवाद चर्किएको छ ।

सो विद्यालयले मासिक शुल्क पाँच सयका दरले वर्षमा छ हजार परीक्षाको क्रममा असुल गर्दा विवाद भएको हो । सो विद्यालयमा बुधवार कक्षा १२ को परीक्षाका लागि फाराम भर्ने सूचना जारी गरिएको थियो । परीक्षाका लागि विद्यालयले बक्यौता शुल्क भुक्तानीको लागि ताकेता गर्दा विद्यार्थीहरूले विवाद गरेका हुन् ।

विद्यालयमा यसअघि कक्षा ११ का विद्यार्थीहरूलाई कक्षा १२ का विद्यार्थीहरूले स्वागत कार्यक्रम आयोजना गरेको र सो कार्यक्रममा वीरगंज महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले कक्षा १० सम्मका विद्यार्थीहरूले कुनै पनि शुल्क तिर्नुनपर्ने बताएका थिए ।
तर विद्यार्थीहरूले भने मावि तहमा अध्यापन हुने कक्षा १२ सम्मका विद्यार्थीहरूले शुल्क दिनुनपर्ने बुझेर शुल्क तिर्न नमानेपछि विवाद भएको हो । कक्षा १२ मा ४५ जना विद्यार्थी अध्ययनरत छन् । विवादका कारण विद्यार्थीहरूले हिजोदेखि कक्षा बहिष्कार गर्दै आएका छन् ।

बिहीवार पनि उनीहरूले यही विवादको कारण अध्ययन प्रभावित पारे । शुल्क नतिर्ने विद्यार्थीहरूको अडानमा शिक्षकहरू पनि शुल्क नतिरेको खण्डमा अध्यापन नगराउने भनेर आजदेखि अध्यापन बन्द गरेका छन् । प्रधानाध्यापक दयाकान्त झाले गत जेठ महीनामा अभिभावकसमेतको बैठकमा कक्षा ११ र १२ सञ्चालनका लागि विद्यार्थीबाट मासिक पाँच सय शुल्क उठाउने निर्णय भएको बताए । वडाध्यक्ष सञ्जीवबहादुर छतकुलीले कक्षा ११ र १२ सञ्चालनका लागि सर्वपक्षीय सहमतिमा शुल्क निर्धारण गरिएको र शुल्क तिरेर परीक्षामा सहभागिताको लागि विद्यार्थीहरूसँग अपील गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here