नेशनल मेडिकल कलेज शिक्षण अस्पताल वीरगंजमा अध्ययनरत विद्यार्थीहरू अहिले आन्दोलनमा छन् । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त यो कलेजका विद्यार्थीहरूको माग त्रिविविको मापदण्ड अनुसार कलेज सञ्चालन होस् भन्ने छ । कलेजमा एमबिबिएस पाँच सेमेस्टर, पिजी र इन्टर्नशिपका गरी करीब साढे छ सय विद्यार्थीले विगत चार दिनदेखि आन्दोलन गर्दै आएका छन् । उनीहरूले कलेज त्रिविविको मापदण्ड बमोजिम सञ्चालन नभएको आरोप लगाएका छन् । त्रिविविको मापदण्ड अनुसार कलेजमा अध्ययनरत विद्यार्थीहरू छात्रावासमा अनिवार्यरूपमा बस्नुपर्दैन । विद्यार्थीहरूको इच्छा अनुसार छात्रावास वा अलग बस्न सक्छन् । यसैगरी, छात्रावासमा बस्ने विद्यार्थीहरूका लागि छात्रावासमा व्यवस्था गरिएको खाजाघरको प्रयोग पनि अनिवार्य हुँदैन । तर नेशनल मेडिकल कलेज शिक्षण अस्पताल वीरगंजमा त्रिविविको यो मापदण्ड पूरा नगरिएको विद्यार्थीहरूको आरोप छ । विद्यार्थीहरूले आफूखुशी छात्रावास र खाजाघरको प्रयोग गर्न पाउने अधिकार दिनुपर्ने माग गरेका छन् । उनीहरूको यो अधिकार दिने कुरामा कलेज अहिलेसम्म उदार बनेको छैन । यही विषयमा पटकपटक हुँदै आएको विद्यार्थी अFन्दोलनलाई कलेज प्रशासनले विभिन्न हतकण्डाको प्रयोग गरेर तुहाउँदै आएको थियो । कहिले प्रहरी र प्रशासनको आडमा त कहिले अभिभावकहरूको प्रयोग गरेर अनि कहिले सहमतिमा । यसअघिका आन्दोलनमा सबै तहका विद्यार्थीहरूको सहभागिता हुने गरेको थिएन । तर अहिले त्यस्तो छैन र कलेजमा एमबिबिएस, पिजी र इन्टर्नशिप गरी सबै तहका विद्यार्थीहरू अFन्दोलनमा होमिएका छन् ।
उनीहरूले यसपटकको आन्दोलनबाट आफ्नो अधिकार सुरक्षित गरिछाड्ने दृढता लिएका छन् । छात्रावास, खाजाघरका साथै त्रिविविले तोकेको शुल्कबाहेक अतिरिक्त शुल्क कलेज प्रशासनले लिएको आरोपसहित सात सूत्रीय माग विद्यार्थीहरूले अघि सारेका छन् । कलेजको छात्रावासमा बस्दै आएका दुईजना छात्रको केही दिन अघि दुर्घटनामा मृत्यु भएको विषय पनि अहिलेको आन्दोलनको एउटा कारण बनेको छ । छात्रावासमा बस्दै आएका दुईजना युवकहरू रातीको समयमा छात्रावासबाट बाहिरिएका उनीहरूको मोटरसाइकल दुर्घटनामा ज्यान गएको थियो । छात्रावास प्रशासन र सुरक्षागार्ड यस घटनाको जवाफदेही हुनुपर्छ । तर कलेज प्रशासनले स्पष्टीकरण मात्र सोधेर गम्भीर प्रकृतिको यो अपराधलाई ढाकछोप गर्ने प्रयत्न गरेको देखिन्छ । मृतक विद्यार्थीका परिवारजनले पनि कलेज प्रशासनलाई घटनामा दोषी देखाउँदै आएको छ र प्रहरीमा किटानी जाहेरी छ । तर प्रहरीले अहिलेसम्म परिवारले दिएको किटानी जाहेरी दर्ता गरेको छैन ।
नेशनल मेडिकल कलेज शिक्षण अस्पताल वीरगंजमा यी समस्याहरू अहिले यस प्रकारबाट चर्काइएको छ कि यतिखेर कलेज व्यवस्थापनको विषयलाई लिएर सञ्चालक दाजुभाइबीचमा कानूनी लडाइँ शुरू भएको छ । सुरुआतदेखि नेशनल मेडिकल कलेज दाजु अध्यक्ष र भाइ प्रबन्ध निर्देशक भएर सञ्चालन हुँदै आएको हो । महीना दिनअघि नेपाल मेडिकल कलेजको प्रबन्ध निर्देशकसमेतको जिम्मेवारी नेशनल मेडिकल कलेजका अध्यक्ष दाजु आफैंले लिनु अनि परिवारमा कलह शुरू भएको ठीक यसै बखत नेशनल मेडिकल कलेजमा समस्या उत्पन्न हुनु संयोग मात्र हो कि नियोजित खोजको विषय भएको छ ।