दिनेश मिश्र, वीरगंज, १६ माघ/
मधेस प्रदेश सरकारले पर्सा जिल्लाका विभिन्न स्थानमा ४० किलोमिटर सडक निर्माणको लागि आव २०७८/७९ मा विनियोजन भएको रकममा थप गरिएको १२ करोड बजेट फिर्ता हुने देखिएको छ ।

मधेस प्रदेश सरकारले ४० किलोमिटर सडक निर्माणको लागि रु ५४ करोड ७१ लाख ७३ हजार २७९ मा आठ स्थानमा पाँच–पाँच किलोमिटर सडक निर्माणको ठेक्का दुईवटा कम्पनीले लिएको थियो । तर दुवै कम्पनीले गत पुस मसान्तसम्म सम्पन्न गर्नुपर्ने काम पूरा गर्न नसक्दा मधेस सरकारले पठाएको यसै योजना अन्तर्गतको थप १२ करोड रकम फिर्ता हुने देखिएको छ ।

मधेस प्रदेश सरकारले ४० किलोमिटर सडक निर्माणका लागि आठवटा ठेक्कामार्फत पाँच–पाँच किलोमिटर सडक निर्माण शुरू गरेको थियो । आठवटा ठेक्कामध्ये छवटा ठेक्का शिवाको कन्स्ट्रक्शन प्रालि काठमाडौंले र दुईवटा रञ्जन निर्माण सेवाले सकार गरेको थियो ।

प्राविधिक रिपोर्ट अनुसार ३० देखि ६० प्रतिशतसम्म मात्र काम भएको छ । गत पुस मसान्तसम्म यो आयोजनाको काम सम्पन्न हुनुपर्ने अन्तिम मिति थियो । अहिले ठेकेदार कम्पनीहरूले वैशाखसम्मको म्याद थपको लागि प्रयास गरिरहेका छन् । मधेस प्रदेश सरकारले आठवटै योजनामा चालू आवमा डेढ/डेढ करोड गरी थप १२ करोड बजेट विनियोजन गरेको थियो । तोकिएको समयमा काम सम्पन्न गर्दा बजेट अभाव नहोस् भनेर बजेट थप गरिए पनि यो कार्य आधा अधूरै छ । जसले गर्दा चालू आवमा विनियोजित १२ करोड फिर्ता हुने देखिन्छ ।

आव २०७८/७९ मा गुलरियाचोक वडा कार्यालयदेखि पटेर्वासुगौलीसम्म सडक बनाउने सम्झौता छ करोड ८५ लाखमा शिवाको कन्स्ट्रक्शनले लिएकोमा ६० प्रतिशत मात्र काम भएको छ । यसैगरी, रामपुर गण्डक नहर–बहुअर्वा पचरुखी–हरपुर सडक छ करोड ९६ लाखमा सोही कम्पनीले सकार गरेको थियो । यसको भौतिक प्रगति ३५ प्रतिशत मात्र भएको छ । यसैगरी, श्रीसिया सुक्खा बन्दरगाह–अठराहा सुगौलीबिर्ता अपौनी सडक छ करोड ४८ लाखमा शिवाकोले लिएकोमा २५ प्रतिशत मात्र भौतिक प्रगति भएको छ ।

वीरगंजको लक्ष्मणवा–भिस्वा–नगवा–इनर्वा सडक निर्माणको लागि छ करोड ५३ लाखमा शिवाकोले लिएको थियो र यसको भौतिक प्रगति ३० प्रतिशत मात्र छ ।

धोरे–पकाहा–पोखरिया सडक निर्माण छ करोड ४२ लाखमा शिवाकोले नै लिएको र यसको भौतिक प्रगति ३० प्रतिशत मात्र छ । वीरगंज–३२ परसवा–कियासोतपुल–जनता सडक–रामवन सडक सात करोड १५ लाखमा शिवाकोले लिएको र यसको भौतिक प्रगति ६५ प्रतिशत छ । सबैठवा–भेडिहारी–हरिहरपुर–गण्डक नहर सडक निर्माणको लागि रञ्जन निर्माण सेवाले छ करोड ८७ लाखमा ठेक्का सकार गरेको र यसको भौतिक प्रगति ४० प्रतिशत छ ।

ठोरी–बाघमोर्चा खोला–सुवर्णपुर–दण्डाचोक–गम्हरिया टोल–महादेवपट्टी सडक निर्माणको काम पनि रञ्जनले लिएको र यसको भौतिक प्रगति ६० प्रतिशत छ ।

पूर्वाधार विकासका सिनियर डिभिजन इन्जिनीयर दीपककुमार मिश्रले दुवै निर्माण कम्पनीलाई पटकपटक काम सम्पन्नको लागि मौखिक, लिखित ताकेता गरेको तर समयमा काम सम्पन्न नभएको बताए । उनले ठेकेदार कम्पनीहरूले अहिले वैशाखसम्मको समयसीमा माग गरिरहेको जानकारी गराएका छन् ।

उनले विनियोजित रकम खर्च नभएको कारण थप आएको रकम फिर्ता हुने सम्भावना बढेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here