राधेश्याम पटेल, परवानीपुर, १६ माघ/
नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका विद्यार्थीहरू हडतालमा उत्रेका छन् । कलेजमा अध्ययनरत एमबिबिएस र पिजीका विद्यार्थीहरू विभिन्न माग राख्दै हडतालमा उत्रेका हुन् । विद्यार्थीहरूले भोलि बुधवारदेखि ओपिडी पनि बन्द गरी हडताललाई निरन्तरता दिने बताएका छन् ।

छात्रावासमा बस्दा चर्को शुल्क तिर्नुपरिरहेको भन्दै उनीहरूले छात्रावासमा अनिवार्यरूपमा बस्ने प्रावधान खारेज गरिनुपर्ने माग गरेका छन् । उनीहरूले माग सम्बोधन नहुन्जेल हडताललाई निरन्तरता दिने बताए । कलेजमा एमबिबिएसमा करीब पाँच सय, पिजीमा एक सय र इन्टर्नशिपमा करीब ८० गरी कुल ६८० जना विद्यार्थी हडतालमा उत्रेका छन् । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त यो कलेजमा सरकारको नियम अनुसार होस्टेलमा बस्न र खान अनिवार्य छैन । तर पनि कलेज प्रशासनले विद्यार्थीहरूलाई होस्टेलमैं बस्न र होस्टेलकै क्यान्टिनमा खाना खान अघोषित अनिवार्य पारेको छ । कलेजले अन्य शीर्षकहरूमा पनि चर्को शुल्क लिइरहेकोले सोको विरोधमा उत्रेको विद्यार्थीहरूले जनाएका छन् ।

उनीहरूले छात्रावासमा बस्ने नबस्ने विद्यार्थीहरूको चाहनाअनुरूप हुनुपर्ने, होस्टेलमा बसेकाहरूले पनि क्यान्टिनकै खाना खानुपर्ने अनिवार्यता हटाउनुपर्ने, फिल्ड भिजिट योजनामा सरकारले तोकेको मापदण्ड अनुसार शुल्क मिनहा हुनुपर्ने, प्रतिविद्यार्थी प्रतिवर्ष रु १८ हजार वाइफाई चार्ज लिने गरेकोमा कम गर्नुपर्ने, एमबिबिएसपछि एक वर्षको इन्टर्नशिपमा मेडिकल अधिकृतको सरकारी मासिक तलबभत्ता रु ४७ हजार भएकोले सोको आधा अर्थात् रु २३ हजार पाँच सय विद्यार्थीले कलेजबाट पाउनुपर्ने माग गरेका छन् ।

पिजी (पोस्ट ग्राजुएट) कोर्समा सरकारले तोकेको शुल्क अनुसार नै तीन वर्ष शुल्क तिर्नुपर्नेमा पटकपटक विभिन्न शीर्षकमा शुल्क असुली बन्द गरिनुपर्ने जस्ता मागहरू अघि सारेका छन् । विद्यार्थीहरूका अनुसार कलेजको नियामक निकाय चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातकोत्तर (पिजी)को लागि तीन वर्षमा रु २३ लाख ८० हजार शुल्क तोकेको छ । यसैगरी, बस्न, खान, लाइब्रेरी, वाइफाईलगायत शीर्षकमा प्रतिवर्ष रु एक लाख ७४ हजार तिरिरहेका छन् ।

एमबिबिएसका विद्यार्थीहरूले पाँच वर्षमा उपत्यकामा शिक्षण शुल्क रु ४२ लाख ५० हजार तोकिएको छ भने उपत्यकाबाहिर रु ४५ लाख ५० हजार तोकिएको छ । तर नेशनल मेडिकल कलेजले विद्यार्थीलाई ठगी गर्ने अभिप्रायले जबरजस्ती होस्टेलमा राखेर छात्रावास, खाना र विभिन्न सुविधाको नाममा तोकिएभन्दा बढी रकम लिंदै आएको विद्यार्थीहरूको आरोप छ । उनीहरूले सम्बन्धित निकायले छानबीन गरी कारबाही गर्नुपर्ने माग पनि गरेका छन् ।

आन्दोलनरत विद्यार्थीहरूले हालै छात्रावासको कमजोरीका कारण दुईजना विद्यार्थी दुर्घटनाको शिकार भएर मृत्युवरण गरेको आरोप पनि लगाएका छन् । उनीहरूले सुधारका कुराहरू उठान गरेर आन्दोलनमा उत्रिएका विद्यार्थीका अभिभावकलाई धम्क्याउने कार्य कलेज प्रशासनबाट भइरहेको आरोप लगाएका छन् ।

कलेजका भर्ना निर्देशक आबिद हुसैन (चाँद)ले आन्दोलनरत विद्यार्थीहरूसँग छात्रावास बाहिर बस्नका लागि मन्जुरीनामा माग गर्दा उनीहरू आक्रोशित भएर आन्दोलन गरेको बताए । उनले अभिभावकको मन्जुरी ल्याउने विद्यार्थीहरूलाई छात्रावासमा राख्दैनौं भन्दै यस विषयमा संवादको लागि प्रयास भएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here