• कुमारबन्धु रुपाखेती

मुलुकमा मात्र होइन राजनीतिक दलहरूमा समेत युवाहरूको खडेरी (अनिकाल) पर्न थालेको देखिन्छ । एकताका एमालेलाई युवाहरूको दल भनिन्थ्यो । दासढुङ्गाकाण्डमा एमालेका युवा कार्यकर्ताहरूले काठमाडौं सडक किनाराका सबै रेलिङ (फलामेबार) उखेलेर फालिदिए, सनसनी मचाइदिए । त्यही एमाले अहिले रिटायर्ड जीवन बिताउँदै गरेका ज्येष्ठ नागरिकहरूको भर्ती केन्द्र बनेको छ । प्रहरीबाट रिटायर्ड नवराज हुन् वा सर्वेन्द्र यिनीहरू अचेल फुर्तीफार्तीवाला एमाले हुन् । झन् हाम्रो पर्सा जिल्लामा त एमालेमा उमेरले ज्येष्ठ नागरिक भइसकेकाहरूको तुती बोल्छ । गत वर्षको स्थानीय निर्वाचनमा वीरगंज महानगरबाट सूर्य छापमा लड्ने वडाध्यक्षको उम्मेदवार छनोट निकै विवादित बन्यो । उम्मेदवार छनोटमा सरावगी, श्रीवास्तवहरूको हल्लाबोलले काम गर्दा महानगरका वडा नं ३ र ४ अनि अन्य वडामा समेत धमाचौकडी मचियो ।

वडा नं ४ का पुराना एमाले कार्यकर्ता सुदीप लामाले त सूर्य त्यागी छाता समाए । वडा नं ३ का शत्रुघ्न नेपाल मन मारेर बसे । महानगरप्रमुख छाता छापका राजेशमान सिंहसमेत पर्सा एमालेको एक फन्को लगाएर छाता ओढेर वैतरणी पार गरे । राजेशमानलाई एमालेमा छिराएको भन्दै धक्कु लगाएर हिंड्ने महेश दासलाई राजेशमानले अहिले महानगरपालिकामा भिœयाएका छन् । मुलुकभरि एमाले युवाविहीन बन्ने क्रम जारी छ र मुलुकबाट विदेशिने युवाहरूको तथ्याङ्क डरलाग्दो छ । अब यस्तोमा माधव नेपालको दल ‘बाँदरको पुच्छर लौरो न हतियार’ बन्नु स्वाभाविकै हो । पर्सा होस् या अन्यत्र माधव नेपाल थकेहारेका बूढा सारथिको भरमा सास छउन्जेल आस पारामा घस्रिरहेका देखिन्छन् ।

माओवादीका बिचरा लडाकू र योद्धाहरू रूस पुगेर युक्रेनविरुद्ध लड्दैछन् मर्दैछन् । माओवादीमा समेत युवाहरूको अनिकाल परेको सहजै देख्न सकिन्छ । सत्तामा आएपछि माओवादी चिराचिरामा विभक्त भयो । बाबुरामसमेत विरक्तिएर जता पायो त्यतै लागे । यस्ता कार्यहरूले टुहुरा र बेसहारा बनेका माओवादी युवा लडाकूहरू कोही खाडीमा त कोही रूसमा ज्यान गुमाउँदै छन् । जहाँसम्म नेपाली काङ्ग्रेसको कुरा छ यो पार्टीमा त झन् पद र कुर्सीका खातिर आप्mनो र पराया हेर्दैन । एकपटक कुर्सीको मजा चाखेकाहरू जोकझैं कुर्सीमा टाँसिएर मर्न–मार्न उतारु देखिन्छन् । शेरबहादुरकै प्रधानमन्त्री पद र पार्टी सभापतिको -हाल चुहाइले काङ्ग्रेस पातलिंदै जाँदासमेत शेरे टसमस भएका छैनन् ।

केही समययता झन्झन् विवादित बन्दै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टीको स्वर मलिनो हुँदै गएको बुझिन्छ । ‘तातै खाऊँ जल्दै मरूँ’ प्रकृतिका मधेसवादी दलहरू अझै आआप्mनै तालमा बेसुरा बाँसुरी बजाउनाले झन्झन् तल जाँदैछन् । अस्ति वीरगंजमा पूर्वराजा ज्ञानेन्द्रको अभिनन्दन कार्यक्रममा पूर्वराजाले राजसीपारामा दलहरूलाई निकै होच्याए । दर्दनाक दरबार हत्याकाण्डबारे वीरगंजमा पहिलोपटक मुख खोले, सहानुभूति बटुले । युवा पलायन रोक्न राजाले स्वदेशमैं पौरख गर्न सुझाए । अस्ति एउटा अन्तर्वार्तामा पूर्वन्यायाधीश बलराम केसीको एउटा भनाइ मलाई निकै रोचक र घोचक लाग्यो । उनले भने, “राजतन्त्र गयो, गणतन्त्र आयो, यो राम्रो कुरा हो तर वर्तमान नेताहरूले अधिकार नै नभएको बेकाइदासमेत गरे, पूर्वराजाको नाम ज्ञानेन्द्रवीर विक्रम शाहदेव हो र नेताहरूले उनको नाम नै परिवर्तन गर्नेगरी ज्ञानेन्द्र शाह मात्र कायम गर्नु मनोमानी शैली हो ।”

मुलुकमा टिक्न र बिक्न सक्ने अवस्था नभएपछि थुप्रै युवा भेडियाधसान स्तरमा विदेशिने क्रम जारी छ । यसरी विदेशिने अधिकांश युवा राजनीतिक दलका कार्यकर्ताहरू नै रहेको पुष्टि हुँदै गएको छ । त्याग र बलिदानको सट्टा मानमर्दन हुन थालेको, नेताहरू परिवारवादमा लम्पट भएको, रोजगारको पटक्कै मौका नदेखेपछि बौद्धिक र राजनीतिक चेतना भएका दलका कार्यकर्ताहरू निराश हुँदै पलायन रोजेका देखिन्छन् । अस्ति माघ १० गते सम्पन्न राष्ट्रियसभाका उम्मेदवारहरूको सूचीमा समेत सिटौला, आनन्द ढुङ्गाना जस्ता ज्येष्ठ नागरिकहरूको बोलवालाले युवा राजनीतिक जमातमा घोर निराशा छाएको छ । युवा पलायन रोक्ने कुनै प्रयास सत्ताधारी दल अथवा विपक्षले गरेका देखिंदैनन् ।

हाम्रो बेलामा विद्यालय र कलेज जीवनमैं जवानीमैं युवाहरू राजनीतितिर आकर्षित हुन्थे । त्यतिखेर कोही नेविसङ्घ, कोही अखिल र कोही राजावादी स्वतन्त्र विद्यार्थी मण्डलतर्पm लाग्थे । माउ दलको आदेश पाउनासाथ जोश र जाँगरले विद्यार्थीहरू वारपारमा उतारु हुन्थे । अचेल त खोला त¥यो लौरो बिर्सियो हुन थालेकाले युवाहरू पढ्दापढ्दै कि विदेश, कि नोकरी खोज्न थाल्छन् । राजनीतिक दलहरूका लागि यो वरदान होइन, अभिशाप हो । नेपाली राजनीतिक दल र तिनका नेतामा छिटो धनकुबेर बन्ने चाहना देख्दा मलाई गुलजारको यो शायरी याद आउँछ ।

बहुत गजबका नजारा है इस अजीब दुनियाँका लोग सब कुछ बटोर्ने में लगे है खाली हात जाने के लिए । त्यसैले बूढाखाडा नेताहरूले बुझ्नुपर्छ–

एक वक्त के बाद … बहस करने कि ताकत नहीं बचती तब मौन से सुकुन और भीड से दूर बन्द कमरा अच्छा लगता है । युवाहरूलाई प्रयोग गर्ने मात्र होइन जिम्मेवारी चाहियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here