• विनोद गुप्ता

आखिरकार २२ जनवरी २०२४ सोमवारका दिन भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीले एक भव्य समारोहका बीच राम जन्मभूमिमा निर्मित विशाल एवं अतिसुन्दर राम मन्दिरको समुद्घाटन गरेका छन् । यस अवसरमा सम्पूर्ण भारत र नेपालका खासगरी मधेसको सीमावर्ती क्षेत्र पनि पूरै राममय भएको हामी सबैले देखेकै हौं । यत्रो भव्य समारोहलाई भने विपक्षी दल, चुनावी लाभको लागि गरेको भनेर विरोध गरेर सहभागी भएन । २०२४ अप्रिलसम्म लोकसभा निर्वाचन हुने चर्चा पनि चलिरहेको छ । यस परिप्रेक्ष्यमा विरोधी दलको भनाइलाई चुनावी लाभहानिको दृष्टिकोणबाट पनि मूल्याङ्कन गर्नुपर्ने हुन्छ ।

भारतको मध्यमवर्गीय बनिया समाज र ब्राह्मणहरूको दलहरूको रूपमा जनसङ्घको रूपमा रहेको आजको भारतीय जनता पार्टीको उदय, सन् १९२३ मा विनायक दामोदर सावरकरको ‘हिन्दूत्व’ नामक पुस्तकमा आधारित रहेको पाइन्छ, जसमा उनले हिन्दू धर्मको श्रेष्ठतम समानताको सिद्धान्तलाई विभाजित गर्दै मित्र र शत्रुको अवधारणा सारेका थिए । जस अनुसार भारतमा पुख्र्याैली थलो भएर पितृभूमि (भारत)प्रति वफादारहरूलाई मित्रशक्ति र अन्यलाई शत्रु भनेर प्रस्तुत गरेको पाइन्छ । सन् १९२५ मा सावरकरको यो भनाइबाट प्रेरित भएर नासिकका चिकित्सक केबी हेगवरले राष्ट्रिय स्वयंसेवक सङ्घ नामक एउटा संस्था स्थापना गरे । यस संस्थामा युवाहरू भर्ती गरिन्छ र उनीहरूलाई पितृभूमि एवं मित्र र शत्रु शक्ति पहिचान गर्ने तालीम दिने गरिन्छ । यस सिद्धान्तमा आधारित भएर भारतमा संसद्को चुनाव लड्न थालेको जनसङ्घ एक सिटबाट सन् २०१४ सम्म आइपुग्दा सरकार बनाउने अवस्थामा पुग्यो । सन् २०१९ मा २०१४ कोभन्दा राम्रो परिणाम ल्यायो र सन् २०२४ मा ४००+ सिट ल्याउने विश्वास गरेर बसेको छ । केही दिन पहिले नै भारतको छत्तीसगढ, मध्य प्रदेश र राजस्थानमा भएको विधानसभा निर्वाचनमा मध्य प्रदेशमा शिवराज सिंह र राजस्थानमा सिन्धियाको असहयोग रहनुका साथै भारतको मोदी मिडियाबाहेक सामाजिक सञ्जालमा सक्रिय सबै समाचार सम्प्रेषण, पत्रकार एवं ज्योतिषहरूले समेत मोदीको ठूलो हार हुने प्रक्षेपण गरिरहँदा तीनै राज्यमा उनकै विजय भयो । ‘मोदी है तो मुमकिन है’ भन्ने उक्ति पुनः चरितार्थ भयो ।

भारतको स्वतन्त्रता आन्दोलन काङ्ग्रेसको नेतृत्वमा भयो र महात्मा गाँधीको धर्मनिरपेक्षताको अगाडि हिन्दूवाद चलेन र हिन्दूवादी शक्तिले काङ्ग्रेस र महात्मा गाँधीको यो कदमलाई मुस्लिम तुष्टीकरणको रूपमा लिएर यसलाई शत्रु शक्तिको रूपमा लिन थाले । जसको फलस्वरूप सन् १९४८ मा नाथुराम गोड्सेले महात्मा गाँधीलाई गोली हानी मारिदिए । यस घटनापछि बापूको नामबाट चिनिएका र अत्यन्तै लोकप्रिय भइसकेका गाँधीको धर्मनिरपेक्षताको नीतिलाई नै स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूले अगाडि सारे । गाँधीप्रतिको सहानुभूति र नेहरूको लोकप्रियताले सन् १९६४ सम्म काङ्ग्रेसलाई सधैं साथ दियो । ६४ मा नेहरूको निधनपछि इन्दिरा गाँधीले नेहरूको विरासत सम्हालिन् । तर इन्दिरा गाँधीले अदालतको आदेशबाट चुनाव हारेपछि सत्ता जोगाउन लगाएको आपत्कालका दौरान सन् १९७६ मा उनका कान्छा छोरा सञ्जय गाँधीले दिल्लीको जामा मस्जिद क्षेत्रका मुसलमानहरूको बलपूर्वक नसबन्दी गर्नुका साथै तुर्कमान गेटबाट मुसलमान सुकुम्बासी धपाउन आमहत्या गरियो । यसबाट काङ्ग्रेसको मुस्लिम भोट घटेर गयो र ७७ को चुनावमा मोराजी देसाई भारतको प्रधानमन्त्री बन्न पुगे । यस घटनापश्चात् इन्दिरा गाँधीले आरएसएससँग नजीक भएको देखाउन थालिन् र पञ्जाबमा भिन्डरवालेलाई समर्थन गरी हिन्दूत्वलाई बढावा दिन थालिन् । उनको हत्यापछि उनका जेठा छोरा राजीव गाँधीले दूरदर्शनमा रामायण प्रदर्शनको अनुमति दिनुका साथै विवादित बाबरी मस्जिदको ढोका हिन्दूहरूको लागि खोली दिएका हुन् । सन् १९८० को हिन्दू–मुस्लिम दङ्गादेखि १९९२ मा पिभी नरसिंहारावको प्रधानमन्त्रित्वकालसम्मको घटनाक्रमले काङ्ग्रेसमा धर्म निरपेक्षता मूल्यहीन भएको सन्देश दिनु र राजीव गाँधीपछि दक्षिण एशियामा ‘स्वीकार्य चमत्कारी नेतृत्व’ भएको नेताको अभावमा जनसङ्घबाटै उदाएका अटलबिहारी वाजपेयी हुँदै मिलिजुली सरकारबाट सन् २०१४ मा सत्ता, बहुमतबाट, भारतीय जनता पार्टीको पोल्टामा प¥यो । त्यसपछि आजसम्म मोदी र उनको सरकारको जतिसुकै विरोध भएपनि उनले नै चुनाव जित्नुको कारण के होला भनेर उत्सुकता जाग्नु स्वाभाविक नै हो । यसमा विचार गर्दा पहिलो त विपक्षसँग सर्वस्वीकार्य चमत्कारी नेता नहुनु नै हो तथापि यसबाहेक धेरै भित्र पसेर अन्वेषण गर्दा अत्यन्त संवेदनशील तथ्यहरू फेला पर्दछन् ।

त्यो के भने राज्यहरू दुर्ई प्रकारका हुन्छन् । पहिलो, राष्ट्रिय राज्य जसको उदाहरणस्वरूप युरोपेली राज्यहरूलाई लिन सकिन्छ । जुन ८० वर्षे युरोपेली युद्धपछि सन् १६४८ को वेस्ट फालिया सन्धिको परिणाम मानिन्छ र दोस्रो हो, सभ्यता राज्य जुन सांस्कृतिक जातीय आनुवांशिकतामा आधारित हुन्छ । यसलाई साम्राज्यहरूको पुनरोदय पनि भनिन्छ । किनभने चीनको ताइवान माथिको दाबी र त्यसैगरी भारतसँग अरुणाचल प्रदेश गाभ्ने नीति र त्यसैगरी सन् ९० मा विघटित सोभियत सङ्घले अहिले युक्रेनलाई राष्ट्रको मान्यता नै नदिई युद्धमा होमिने प्रयासलाई सभ्यता पुनरोदयको प्रयास मान्न सकिन्छ । त्यसैगरी दक्षिण एशियामा भाजपाको उदय र १० वर्षे शासनकाललाई सभ्यता राज्यको उदयको अवधारणाबाट हेर्न थालिएको छ । प्राचीन समयमा सिन्धु घाटी सभ्यताबाट हिन्दू हुँदै उदाएको सांस्कृतिक आनुवांशिक समूह प्राचीन जम्बुद्वीप अन्तर्गतको श्रीलङ्कादेखि अफगानिस्तानसम्मको भूभाग भरतखण्ड नै थियो । प्रधानमन्त्री मोदीले यही सांस्कृतिक आनुवांशिक सम्बन्धको प्रयोग गरेर सावरकरको हिन्दूत्वको मित्र र शत्रु शक्तिको पहिचान गरेर पितृसत्तात्मक समाज बनाउने अभिप्रायले जय श्रीरामको नारा दिएर भारतमा राजनीति अघि बढाउँदै जाँदा प्रत्यक्ष चरणमा जुन सफलता प्राप्त गरे त्यसैको परिणति थियो भारतको नवनिर्मित संसद् भवनमा नेपालको भूभागसमेत देखाएर झुन्ड्याइएको अखण्ड भारतको सांस्कृतिक नक्शा भनेर जवाफ दिएको कुरा । यस नक्शा पछाडिको सोच त्यसबेला बुझ्न नसकिए पनि अब भने अखण्ड भारत भनेर हिमालयदेखि सागरसम्म र म्यान्मादेखि कान्धारसम्म एउटै सभ्यता स्थल हो र यसैलाई टेकेर भारतका वर्तमान प्रधानमन्त्री मोदी भारतलाई सभ्यता राज्य बनाउने उद्यममा लागेको बुझ्न सकिन्छ ।

वर्तमान भारतमा हिन्दूत्वको नाराले उनको लागि अपार जनसमर्थन जुटाइदिएकोले सन् २०२४ मा हुने लोकसभा निर्वाचनमा पूर्ण बहुमत पाउने र त्यो भए भारतलाई हिन्दू राष्ट्र नै घोषणा गर्ने गरी संविधान संशोधन हुनुलाई आश्चर्यको रूपमा लिनुहुन्न । हाम्रो क्षेत्रमा चीन र भारत गरी दुर्ईवटा सभ्यता राज्यको उदय हुनु साना मुलुकहरूको लागि शुभ सङ्केत मान्न सकिन्न । किनभने यसले साम्राज्यवादको पुनरोदयको खतरा हुने चेतावनी दिइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here