प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लामो समयदेखि बन्द उद्योगहरूलाई सञ्चालनमा ल्याउने सरकारले तयारी थालेको बताएका छन् । वीरगंजमा हिजो सोमवार एक कार्यक्रममा उनले मन्त्रिपरिषद्बाट निर्णय भएको र एक महीनामा यसको प्रतिफल सार्वजनिक हुने दाबी पनि गरे । उनले नाम किटान गर्दै वीरगंज चिनी कारखाना लिमिटेड, जनकपुर चुरोट कारखाना, विराटनगर जुट मिल र गोरखकाली रबर उद्योग सञ्चालन गरिने बताएका हुन् । यसो त उनले भन्नुभन्दा अघि नै सार्वजनिक भएको थियो । समाचारमाध्यमहरूमा भारतको टाटा समूहले वीचिकालि, विराटनगर जुट मिल र गोरखकाली रबर उद्योग सञ्चालन गर्न इच्छा जाहेर गरेको प्रकाशमा आएको थियो । तर प्रधानमन्त्रीले नै यसबारेमा चर्चा चलाएपछि सम्भवतः बन्द उद्योगहरू सञ्चालनमा आउने हो कि भन्ने आशा पलाएको छ । २०४६ सालको जनान्दोलनपछि बनेको नेपाली काङ्ग्रेस सरकारको पालामा तत्कालीन प्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको पालामा २०४८ सालमा यी उद्योगहरू निजीकरणको शिकार भएर बन्द भएका थिए ।

त्यत्तिखेर ३१ वटा उद्योग निजीकरणको शिकार भएका थिए । घाटामा रहेकाहरूको कुरै भएन नाफामा रहेका उद्योगहरूलाई पनि तत्कालीन अवस्थामा राजनीतीकरण गर्दै घाटा देखाएर निजीकरण गरिएका थिए । बन्द उद्योगहरूमध्ये जनकपुर चुरोट कारखानाको भवनमा अहिले मधेस प्रदेश सरकार सञ्चालनमा छ । वीचिकालि, विराटनगर जुट मिल र गोरखकाली रबर उद्योग भने बन्द अवस्थामा छन् । सरकारले वीचिकालि सञ्चालनमा ल्याउने कुरा उहिल्यैदेखि चलाउँदै आएको हो । वीचिकालि बन्द भएको करीब ३२ वर्ष भयो । योसँगै बन्द भएको वीरगंजको कृषि औजार कारखाना भने केही वर्षदेखि वैज्ञानिक महावीर पुनको पहलमा सञ्चालनमा आएको छ । वीचिकालि सञ्चालनको लागि २०६४ सालमा मधेसवादी दलहरू सरकारमा सहभागी भएपछि पहल गरेका थिए । आजै खुल्ने, अहिले खुल्ने अवस्थामा पुगेको वीचिकालि अहिलेसम्म खुल्न भने सकेको छैन् । त्यसबेला वीचिकालिमा मात्र १४ सयजनाले प्रत्यक्ष रोजगार पाएका थिए । यसको साथै उखु किसानसमेत गरी अप्रत्यक्षरूपमा हजारौंले रोजगार पाएका थिए । कृषिसँग जोडिएकोले पनि मधेसवादी दलहरूले वीचिकालि सञ्चालनको लागि पहल गरेका थिए । तर मन्त्रिपरिषद्मा ५३ प्रतिशत मन्त्रीहरू मधेसका भएपनि वीचिकालि सञ्चालनमा ल्याउन सकेनन् । अहिले मधेसवादी दलहरूमा जसपा, जनमत पार्टी सरकारमा छन् । उनीहरूकै मात्र पहलमा यो काम भएको भन्न सकिने अवस्था छैन । किनभने अहिले सरकारले सञ्चालनमा ल्याउने घोषणा गरेको बन्द उद्योगहरूमा वीचिकालि मात्र छैन । योसँगै थप तीनवटा उद्योग पनि छन् ।

सरकारले सार्वजनिक–साझेदारी कार्यक्रम अन्तर्गत चारवटा उद्योग सञ्चालनको तयारी गरेको प्रम प्रचण्डको भनाइ छ । यस कारण पनि भारतको टाटा समूहको नाम चर्चामा आएको हुन सक्छ । सरकारले यी चारवटा उद्योग टाटा समूहको सहभागितामा सञ्चालनमा ल्याउन खोजेको हो भने राम्रो कुरा हो । बन्द उद्योगहरू सञ्चालनमा आएमा नेपालीहरूले रोजगार पाउनेछन् । तर लामो समयदेखि बन्द उद्योगहरू खुल्ने कुरा एकादेशको कथा बनेकोले सरकारले भन्दैमा खुलिहाल्छ भन्ने विश्वास जनतामा पलाउन भने सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here