प्रस, निजगढ, १४ माघ/
निजगढ नगरपालिका–२ सिंगौलस्थित वनदेवी सामुुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा अतिक्रमण र आबादी गराएको भनी २६ जनाविरुद्ध परेको उजूरीमा बारा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेसँगै आइतवार घटनास्थलबाट वस्तुस्थिति मुचुल्का उठाइएको छ ।

डिभिजन वन कार्यालय, बारा मातहतको निजगढ सबडिभिजन वन कार्यालय, भमराका प्रमुुख एवं अनुुसन्धान अधिकृत रघुुनाथ दास, इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक घनश्याम श्रेष्ठ, सशस्त्र प्रहरी बल नेपाल, विपद् व्यवस्थापन सुुरक्षा बेस निजगढका सशस्त्र प्रहरी निरीक्षक त्रिलोचन पोखरेलसहितको सुुरक्षा टोली घटनास्थल सिंगौल पुगी मुचुल्का उठाएको हो । मुचुल्का उठाउने क्रममा वडाका जनप्रतिनिधि, स्थानीय समाजसेवीहरूको सहभागिता थियो ।

वन क्षेत्र अतिक्रमण गरी आबाद गरेर घरटहरा बसाएपछि सोको स्थलगत लगत सङ्कलन गरिएको अनुसन्धान अधिकृत दासले बताए । सो वन क्षेत्रमा स्थानीय नरबहादुर क्षेत्री, बुधकुुमारी तिमल्सिना, चेतकुुमारी थापा, मनकुुमार थापा, दिनेश केसी, सीताराम लम्साल, बोलखबहादुर फुलाल, राजु घिसिङ, डम्बरबहादुर थापा, मोहन राई, श्यामबहादुुर घिसिङ, सुदीप घिसिङ, सिद्धबहादुुर थापा, नेपाल राष्ट्रिय मावि, लोकप्रिय आधारभूूत विद्यालय, नेपाल राष्ट्रिय आधारभूत विद्यालय, टाँसी छोइलिङ गुम्बा, टाँसी धार्गेलिङ बौद्ध गुम्बा, रुद्रधर महादेव, कृष्णप्रणामी मन्दिर, सरस्वती आधारभूत विद्यालय, सार्वजनिक पोखरीलगायत वन क्षेत्रको जमीन भागबन्डा गरी आबादीमा संलग्नहरूले घरटहरा बसाएको वन कार्यालयले जनाएको छ ।

वन अतिक्रमणकारीविरुद्ध पक्राउ पुर्जी जारी भएको चार महीनापछि वन समूहका अध्यक्ष सिद्धबहादुुर थापालाई गत पुुस २८ गते पक्राउ गरी १६ दिनदेखि डिभिजन वन कार्यालयको हिरासतमा अनुसन्धानको क्रममा राखिएको छ । यही मुद्दा लागेका पूर्ववडाध्यक्ष, विद्यालयका प्रअसहितका केही व्यक्तिहरू भने फरार रहेका छन् ।

वन अतिक्रमणमा दोषी पाइएका २६ जना व्यक्तिविरुद्ध बारा जिल्ला अदालतले २०८० भदौ १५ गते पक्राउ पुर्जी जारी गरेको थियो । वन अतिक्रमणसम्बन्धी पक्राउ पुर्जी जारी भएपनि उनीहरू सम्बन्धित निकायमा उपस्थित नभएका र उनीहरूलाई पक्राउ गर्न सम्बन्धित प्रहरी निकायमा पत्राचार गरिसकेको डिभिजन वन कार्यालय, बाराका प्रवक्ता जवाहरलालप्रसाद कुुर्मीले बताए ।

सामुदायिक वन समूहको वन क्षेत्र आबादी गराएको विरुद्ध २०७३ असार २० गते अख्तियार दुरुपयोग अनुुसन्धान आयोगमा उजूरी परेको थियो । अख्तियारले २०७७ असार ११ गते दोषी देखिएका व्यक्तिमाथि कारबाही प्रक्रिया अघि बढाउन डिभिजन वन कार्यालय, बारालाई पटक–पटक निर्देशनात्मक पत्राचार गरेको थियो । यसैगरी, यही मुद्दामा सतर्कता केन्द्रमा पनि उजूरी परेको र २०७९ पुस २१ गते आवश्यक कारबाही अघि बढाउन सतर्कता केन्द्रबाट डिभिजन वन कार्यालय, बारालाई निर्देशनात्मक पत्राचार गरिएको थियो ।

दुई निकायमा वन अतिक्रमण सम्बन्धमा परेको उजूरीको आधारमा कारबाही प्रक्रिया अघि बढेको डिभिजन वन कार्यालय, बाराले जनाएको छ । सामुुदायिक वन उपभोक्ता समूहको २० हेक्टरभन्दा बढी वन क्षेत्रलाई आबाद गरेको उजूरी परेको अनुसन्धान अधिकारी एवं वन अधिकृत रघुनाथ दासले बताए ।

आबाद गरिएको वन क्षेत्रमा मौसम अनुसारको बाली लगाउने काम हुँदै आएको थियो । तत्कालीन माओवादी सशस्त्र द्वन्द्वताका फँडानी गरिएको यो वन क्षेत्रमा मानवबस्ती बसाउन रोक लगाइए पनि त्यतिखेर अतिक्रमणकारीहरूले टेरपुच्छर नलगाएको स्थानीयको भनाइ छ । अतिक्रमण गरिएको वन क्षेत्रमा सार्वजनिक, सामुदायिक विद्यालय, मठमन्दिर, गुम्बा, सङ्घसंस्था सञ्चालनका लागि जमीन भागबन्डा गरी खेतीपाती गर्न ठेक्कासमेत लगाउँदै आएको स्थानीयले बताएका छन् ।

अदालतबाट पक्राउ पुर्जी जारी भएपछि वन समूह अध्यक्ष थापालाई वन कार्यालयले पक्राउ गरी अनुुसन्धानका लागि नियन्त्रणमा लिएपछि यस वन क्षेत्र आबाद गर्दै ठेक्का बन्दोबस्त गर्दै आइरहेका संलग्न विद्यालय, मठमन्दिर, गुम्बा सञ्चालकहरूले भने वन क्षेत्र छाड्ने र वृक्षारोपण गर्ने आपसी सहमति गरेको स्रोतले जनाएको छ । तर सरोकारवाला आरोपितहरू हाल फरार रहेकाले यसको आधिकारिक पुष्टि भने हुन सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here