कञ्चनपुर, १४ माघ/रासस
तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको पहिलो खेलमा विभागीय टोली पुलिस क्लब विजयी भएको छ ।

महेन्द्रनगरस्थित खुलामञ्चमा आइतवारदेखि शुरू भएको राष्ट्रिय भलिबल प्रतियोगिताको पहिलो खेलमा पुलिस क्लबले लुम्बिनी प्रदेशलाई ३–० ले पराजित गरेको हो । प्रतियोगिताको पहिलो खेलमा लुम्बिनीमाथि पुलिसले एकतर्फी जीत निकालेको हो ।

सुदूरपश्चिम खेलकूद परिषद्को आयोजना एवं कञ्चनपुर जिल्ला भलिबल सङ्घको समन्वय व्यवस्थापनमा शुरू भएको प्रतियोगितामा पहिलो दिन चार खेल हुने कञ्चनपुर भलिबल सङ्घका सचिव उत्तम विष्टले जानकारी दिए । त्यसैगरी, दोस्रो खेलमा एपिएफ र मधेस प्रदेशले प्रतिस्पर्धा गर्दैछन् ।

“प्रतियोगिताको पहिलो दिनको तेस्रो खेलमा त्रिभुवन आर्मी क्लब र बाग्मती भिड्दा अन्तिम खेलमा कर्णाली र सुदूरपश्चिम प्रतिस्पर्धा गर्नेछन्”–विष्टले भने–“दिनमा चारवटा खेल हुनेछन्, आज पहिलो दिन दुई खेलपछि प्रतियोगिताको उद्घाटन परराष्ट्रमन्त्री एनपी साउदलले गरे ।”

प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली गरी १० टोलीको सहभागिता छ । प्रतियोगितामा १५० खेलाडी, प्रशिक्षक र व्यवस्थापक रहने छन् । त्यसैगरी प्रतियोगितामा एक अन्तर्राष्ट्रिय, १२ राष्ट्रिय र १२ प्रदेशका रेफ्रीहरूको सहभागिता छ । प्रतियोगितामा विजेता, उपविजेता र तेस्रो हुनेलाई क्रमशः रु चार लाख, रु दुई लाख र रु एक लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने राष्ट्रिय भलिबल टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले जानकारी दिए ।

“प्रतियोगिताको सेमिफाइनलदेखिका चार खेलमा रु पाँच हजारका दरले ‘म्यान अफ दी म्याच’को पुरस्कार दिने व्यवस्था मिलाइएको छ”–भट्टले भने–“प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीलाई रु २० हजार पुरस्कार प्रदान गरिनेछ ।” उनले प्रतियोगितामा विभिन्न छ विधामा जनही रु १० हजारका दरले पुरस्कार प्रदान गरिने बताए । प्रत्येक दिन प्रतियोगिताका चार खेल र अन्तिम दुर्ई दिनमा दुई खेल हुनेछन् । प्रतियोगिता यही माघ २० गतेसम्म सञ्चालन हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here