काठमाडौं, १२ माघ/रासस
विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गर्दै आफ्नो अपराजित यात्रालाई कायम राखेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रवार भएको खेलमा कर्णाली प्रदेशलाई छ विकेटले पराजित गर्दै आफ्नो अपराजित यात्रालाई कायम राखेको हो । यो जीतसँगै पुलिसले छ खेलमा १२ अङ्क जोड्दै अङ्कतालिकाको शीर्ष स्थानमा छ । यता सात खेल खेलको कर्णाली प्रदेश तीन खेलमा जीत तथा चौथो खेलमा हार बेहोर्दै छ अङ्कका साथ अङ्कतालिकाको सातौं स्थानमा छ ।
कर्णालीले प्रस्तुत गरेको १७२ रनको लक्ष्य पुलिसले २३ दशमलव चार ओभरमा चार विकेट गुमाउँदै पूरा ग¥यो । पुलिसका लागि दिलीप नाथले सर्वाधिक ७५ रनको योगदान दिए । उनले ६२ बलमा छ चौका र चार छक्काको मदतले अविजित ७५ रन बनाएका हुन् । यसैगरी, कुशल भुर्तेलले ४३ रन बनाउँदा कप्तान दीपेन्द्रसिंह ऐरीले ३४ रन बनाए । कर्णालीका लागि प्रकाश जैसीले दुई विकेट लिए भने दिवान पुन र दीपेन्द्र रावतले समान एक/एक विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ रोजेको कर्णालीले ४२ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै १७१ रनको योगफल बनाएको थियो । कर्णालीका लागि निश्चल रावलले सर्वाधिक ५० रनको योगदान दिएका थिए । उनले १०७ बलमा छ चौकाको मदतले ५० रन बनाएका हुन् । यसैगरी, कप्तान रवीन्द्र शाहीले ४०, अर्जुन घर्तीले २३ तथा दिवान पुनले २० रन बनाए ।
पुलिसका लागि सागर ढकालले तीन विकेट लिंदा ललित भण्डारीले दुई तथा दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी र कुशल भुर्तेलले समान एक/एक विकेट लिएका थिएका थिए ।