मनाङ, ११ माघ/रासस
हिमाली जिल्ला मनाङको तापक्रम दैनिक घट्दै गएको छ । माघ लागेसँगै यहाँको तापक्रम घटेर –२२ डिग्री पुगेको छ । दिउँसोको समयमा नै यहाँको तापक्रम –१२ पुग्दछ । हिमपात कम भए पनि चीसो अत्यधिक बढेको छ ।
प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेका अनुसार मनाङमा माघ लागेसँगै तापक्रम घट्दै गएको हो । हिमपात कम भए पनि यहाँको तापक्रम मापन गर्दा अत्यन्त कम हुँदै गएको उनले बताए । जसका कारण यहाँको जनजीवन कष्टकर बन्दै गएको उनले बताए ।
प्रमुख जिल्ला अधिकारी लामिछानेले भने–“चीसोले धारामा पानी जमेको छ । खोलानालामा पूर्णरूपमा पानी जमेको छ । हिउँ कम भए पनि चीसोले ग्याँस बलेको छैन । सवारीसाधनको आवतजावत न्यून छ । पिउने पानी जोहो गर्नै मुश्किल छ ।” चीसो पनि उसैगरी बढ्दै गएको उनले बताए । चीसो बढ्दै जाँदा यहाँका पूर्वाधार निर्माण मङ्सिरदेखि नै ठप्प भएको प्रजिअ लामिछानेले जानकारी दिए ।
मनाड्ढो माथिल्लो क्षेत्रका बासिन्दा अहिले चीसो छल्न बाहिर गएको उनले बताए । अहिले सुरक्षा निकाय र स्वास्थ्य क्षेत्रबाहेक अन्य सेवा प्रवाहमा समेत सकस भएको उनले बताए । उनले भने–“अहिले सुरक्षा निकाय र सामान्य सेवाबाहेक अन्य बन्दजस्तै नै छन् ।”
पहिलो हिमपात हुनासाथ यहाँका शैक्षिक संस्था बन्द भएका छन् । शैक्षिक संस्था बन्द भएपछि अधिकांश स्थानीय जाडो छल्न जिल्ला बाहिर गएका छन् । यहाँका स्थानीय लमजुङ, काठमाडौं, पोखरालगायत स्थानतर्फ झर्ने क्रम जारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
पूर्वाधार कार्यालय मनाड्ढा प्रमुख जय विष्टले भने–“चीसो अत्यधिक छ । त्यसैले सिमेन्टजडित कार्य ठप्प भएको छ । योजनाको नापजाँच, परीक्षण काम गरिरहेका छौं । अन्य कार्यालयसम्बन्धी कामलाई प्राथमिकता दिएर नै काम गरिरहेका छौं ।” विकास निर्माणमा प्रयोग हुने सिमेन्टजन्य काम पूर्णरूपमा रोकिएको छ । चीसोका कारण सिमेन्टसँग सम्बन्धित निर्माणको सेटिङ र हार्डिङ प्रक्रियामा समस्या हुने भएकोले यससम्बन्धी काम बन्द गरिएको बिष्टले बताए ।
त्यस्तै चीसोका कारण मङ्सिरदेखि नै स्थानीय तल झरेपछि नार्पाभूमि गाउँपालिकामा रहेका दुई प्रहरी चौकी सदरमुकाम सारिएको प्रजिअ लामिछानेले जानकारी दिए । उनका अनुसार नार्पाभूमिका अत्यावश्यक कामकाजका लागि सदरमुकामस्थित चामे गाउँपालिका–३ कोतोमा अस्थायी कार्यालय स्थापना गरी सेवाप्रवाह भइरहेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) एकाइ कार्यालय मनाड्ढा प्रमुख ढकबहादुर भुजेलले चीसोमा पनि न्यून मात्रामा पर्यटकको आगमन भइरहेको बताए । सिजनमा भन्दा पर्यटकको आगमन कम भए पनि आउने क्रम जारी रहेको उनले जानकारी दिए ।
उनले भने–“बाटोमा केही मात्रामा हिउँ छ । हिउँ खेल्दै रमाउँदै पर्यटक थोराङ्ला भञ्ज्याङ, तिलिचो तालतर्फ जाने आउने भइरहेको छ ।” पर्यटकलाई मौसमसम्बन्धी जानकारीका साथै बाटोमा हुनसक्ने जोखिम मध्यनजर गरी यात्रा गर्न सुझाव दिंदै आएको उनले बताए ।
मनाङ ङिस्याङ गाउँपालिका–५ भ्राकाका किसान सोनाम लामाले धेरैजसो गाउँले तल झरेका छन् । तर हामी घर कुर्ने र चौंरी हेर्न यहीं बसेका बताए । उनले भने–“चीसोमा माउ चौंरी र युवावस्थाका चौंरीलाई खुवाउन–बचाउन सजिलै हुन्छ । तर बच्चालाई जोगाउनै मुश्किल हुन्छ । ठूला पशुचौपायाले पानी, घाँस आफैं खोज्न सक्छन् । बच्चाले सक्दैनन् । जाडोमा यिनीहरूलाई ध्यान दिनुपर्छ ।”
“लामो समयसम्म हिमपात भयो भने अलिअलि जम्मा गरेर राखेको घाँस सकिन्छ । खान नपाई दुब्लाएर मर्ने गर्छन् । जाडो भइरहेका बेला बच्चालाई भने गोठ बनाएर राखिन्छ । हिउँ बढी परे पनि ठूला भएका चौपायालाई हिउँमै छाड्नुपर्छ । जाडोमा घाँस कम हुँदा दूध पनि कम हुने हुँदा बच्चालाई मात्र ठिक्क हुन्छ । हामी यो समयमा दूध दुहुदैनौं”–उनले भने–“लेकका खर्कबाट गाउँघर नजीक चौंरी ल्याइन्छ । नावर पनि चौंरीसFगै अलि तल झर्छन् । जसले गर्दा हिउँ चितुवा पनि चौपाया नजीकै आहाराका लागि आउने गर्दछन् । यसबाट जोगाउनकै लागि हामी यहाँ बस्नुपर्ने भएको हो ।”
यहाँ फागुनको पहिलो सातादेखि खेतीपातीको समय शुरू हुन्छ । जसले गर्दा बेंसीमा झारिएका गोठ लेकका खर्कतर्फ लैजाने गरिन्छ । हाल जिल्लाभर ४,३९७ चौंरी रहेको भेटेरेनरी अस्पताल तथा विज्ञ केन्द्रका प्रमुख नरेन्द्र राईले जानकारी दिए । जाडो कम हुँदै गएपछि यहाँका स्थानीय पनि जिल्ला फर्कन थाल्दछन् ।