प्रस, रौतहट, १० माघ/
राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन अभियान सञ्चालनसम्बन्धी एक दिने जिल्लास्तरीय अभिमुखीकरण कार्यक्रम बुधवार जिल्ला प्रशासन कार्यालय, रौतहटको सभाहलमा सम्पन्न भएको छ ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, सिंहदरबार र जिल्ला प्रशासन कार्यालय, रौतहटको संयुक्त आयोजनामा भएको अभिमुखीकरणमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक मुकेशकुमार केशरीले रौतहट जिल्लामा राष्ट्रिय परिचयपत्रका लागि २३.७ प्रतिशत मानिसले मात्र फाराम भरेको जानकारी गराए ।
विद्युतीय प्रणालीमार्फत नागरिकको सही परिचय निर्धारण गरी डिजिटल नेपालको निर्माणमा सहयोग गर्न उनले आग्रह गरे । विभिन्न कार्यको लागि एउटै परिचयपत्रबाट काम हुने भएकोले राष्ट्रिय परिचयपत्र बनाउन उनले सबैलाई आग्रह गरे ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, सिंहदरबारका महानिर्देशक योगराय कँडेलले सामाजिक सुरक्षाभत्ता, घटना दर्तालगायत धेरै कार्यमा अब उपरान्त राष्ट्रिय परिचयपत्रको आवश्यकता पर्ने भएकोले छिटोभन्दा छिटो राष्ट्रिय परिचयपत्र बनाउन उनले आग्रह गरे ।
राष्ट्रिय परिचयपत्र बनाउन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा वडा सचिवहरूले ध्यान पु¥याइ विवरण भर्न तथा रुजू गर्न उनले सुझाव दिए । राष्ट्रिय परिचयपत्रको विवरणमा केही गलती भएमा सच्याउन धेरै कठिनाइ हुने उनले बताए । चोरी हुने तथा हराउने समस्याले कठिनाइ हुने भएकोले सुरक्षा अवस्थालाई चुस्त राख्न महानिर्देशक कँडेलले सुझाव दिए ।
रौतहटका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मीहरूले सुझाव दिएका थिए । कार्यक्रममा नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतलगायतका कर्मचारीहरूको सहभागिता थियो ।