प्रस, रौतहट, १० माघ/
रौतहटको ईशनाथ नगरपालिका–५ जटहारा गाउँमा रहेको हनुमान मन्दिर र ब्रह्मस्थानमा अज्ञात व्यक्तिहरूले आगजनी गरेका छन् ।

भारतको अयोध्यामा राममन्दिरमा प्राणप्रतिष्ठा भएको दुई दिनपछि रौतहटको दक्षिणी भेग भारतीय सिमानासँग जोडिएको ईशनाथ नपा–५ जटहारा गाउँस्थित सामुदायिक विद्यालयको प्राङ्गणमा रहेको हनुमान मन्दिर र विद्यालयपछाडि रहेको ब्रह्मस्थानमा हिजो मङ्गलवार राति अज्ञात व्यक्तिहरूले आगजनी गरेका छन् ।

हनुमानको मूर्ति र ब्रह्मस्थानमा पराल राखेर आगो लगाएको फोटो बुधवार बिहान फेसबूकमा पोस्ट भएपछि प्रतिनिधिसभा सदस्य किरणकुमार साह, नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रहरी उपरीक्षकसहितको टोली घटनास्थलमा पुगेका थिए । रौतहट संसदीय निर्वाचन क्षेत्र नं २ मा दुर्ई समुदायबीच विभिन्न विषयमा पटकपटक विवाद हुँदै आएकाले यस्तो घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । प्रहरीले शान्ति सुरक्षा कायम गर्न आग्रह पनि गरेको छ । आगजनीबाट हनुमानको मूर्ति र ब्रह्मस्थानमा क्षति पुगेको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एलिजा गिरीले घटनाको पुष्टि गर्दै प्रहरी प्रमुख महेन्द्रकुमार श्रेष्ठ र सशस्त्र प्रहरी प्रमुख माधव रेग्मीसहितको टोली घटनास्थल पुगेको र छानबीन भइरहेको बताएकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here