सशस्त्र प्रहरीको काम प्रशंसनीय –प्रजिअ

प्रस, वीरगंज, ९ माघ/
सशस्त्र प्रहरी गण १३ नम्बरले सशस्त्र प्रहरी बल, नेपालको २३औं वार्षिकोत्सवको अवसरमा साताव्यापी कार्यक्रम आयोजना गरी मङ्गलवार समापन गरेको छ ।

१३ नं गण वीरगंजले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले सीमा सुरक्षा, अवैध गतिविधि, विपद् व्यवस्थापन, शान्ति सुरक्षा, लागूऔषध नियन्त्रण कार्यमा सशस्त्र प्रहरी बलको भूमिकाको प्रशंसा गरे । उनले संविधान रक्षा तथा प्रचलित कानूनले दिएको जिम्मेवारीलाई अझ सशक्त तरीकाबाट पालना गरी अगाडि बढ्न सुझाए ।

प्रजिअ भुसालले लोकतन्त्रले दिएको नागरिक अधिकार घरघरसम्म पु-याउने जिम्मेवारी पनि सशस्त्र प्रहरीको रहेको बताए । उनले कर्तव्यको सिलसिलामा ज्यान गुमाएका परिवार तथा अशक्त, घाइतेलाई स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको परिवारलाई आर्थिक हिसाबले बलियो बनाउनुपर्ने बताए ।

१३ नं गण हेडक्वार्टर वीरगंजका गणपति किसन कर्माचार्यको अध्यक्षतामा भएको कार्यक्रममा सुरक्षा समितिका सदस्य, उद्योगी–व्यापारी, समाजसेवी, सञ्चारकर्मीलगायतको सहभागिता थियो । कार्यक्रममा ठोरी सशस्त्र बेस बनाउनको लागि पाँच कट्ठा जग्गा दिने ठोरी गाउँपालिका–४ निवासी जग्गादाता मीनबहादुर राई र निश्शुल्क स्वास्थ्य शिविरमा सहयोग गर्ने प्रभु अस्पतालकी सञ्चालिका डा लक्ष्मी थापालाई सम्मान गरिएको थियो ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्