प्रस, वीरगंज, ९ माघ/
जनमत पार्टीले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ र सरकारमा सहभागी दुईजना मन्त्रीले पदबाट राजीनामा गरेका छन् ।
मङ्गलवार जनमत पार्टी मधेस प्रदेशको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने निर्णय गरेको पार्टीका सचिव बिपी साहले बताए ।
जनमत पार्टीका प्रवक्ता डा शरद सिंह यादवले जसपाले सत्ताको दम्भ देखाएको, सहमति उल्लङ्घन गरेकाले सहमति फिर्ता लिएर सरकारबाट बाहिरिएको बताएका छन् ।
मधेस प्रदेशमा जनमत पार्टीबाट शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायात मन्त्री चन्दन सिंह सरकारमा थिए । उनीहरू दुवैजनाले आज राजीनामा गरेका छन् ।मधेस प्रदेशको सप्तरी जिल्लाको राजविराजस्थित कृषि विश्वविद्यालय भवनको शिलान्यास कार्यक्रमलाई लिएर जसपा र जनमत पार्टीबीच विवाद चुलिएको थियो ।
हिजो सोमवार जसपा अध्यक्ष उपेन्द्र यादवले कृषि विश्वविद्यालय भवनको शिलान्यास गरेका थिए भने सो शिलान्यास कार्यक्रम रोक्न जनमत पार्टीले प्रदर्शन गरेको थियो । प्रदर्शनमा मधेस प्रदेशका शिक्ष्Fामन्त्रीलगायत घाइते भएका थिए ।
जनमत पार्टीले कृषि विश्वविद्यालय जसपा अध्यक्ष यादवबाट शिलान्यास नगराउन यसअघिदेखि नै विरोध गर्दै आएको थियो तर विरोधको बावजूद हिजो शिलान्यास भएपछि झडपसमेत भएको थियो ।