संयुक्त राष्ट्रसङ्घ, ९ माघ/सिन्ह्वा
गाजामा जारी इजरायली आक्रमण र इजरायलमा प्यालेस्टिनी रकेट आक्रमण सोमवार पनि कायम रहेको छ । संयुक्त राष्ट्रसङ्घले गत अक्टोबर ७ मा युद्ध शुरू भएदेखि एन्क्लेभमा २५ हजारभन्दा बढीको मृत्यु भएको बताएको छ ।

गाजाको स्वास्थ्य अधिकारीहरूबाट प्राप्त जानकारी र मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसङ्घको कार्यालय (ओसिएचए)ले इजरायली आक्रमणका कारण ६२ हजार ६८१ प्यालेस्टिनी घाइते भएको जनाएको छ । यी आक्रमणहरू इजरायलमा हमास नेतृत्वको आक्रमणको प्रतिक्रियामा थिए । जसको परिणामस्वरूप लगभग एक हजार २०० जनाको मृत्यु भएको छ भने करीब अढाई सयजना बन्धक बनाइएका थिए ।

शुक्रवार गाजामा दुईजना इजरायली सैनिक मारिएको ओसिएएचएले जनाएको छ । यहाँ ग्राउन्ड अपरेशन शुरू भएदेखि एक हजार २०३ सैनिक घाइते भएका इजरायली सेनाले जनाएको छ ।

यो अवधिमा ३४३ प्यालेस्टिनीको मृत्यु भएको तथा ५७३ जना घाइते भएका संयुक्त राष्ट्रसङ्घीय सहायता समन्वय कार्यालयले जनाएको छ ।

आइतवार युगान्डाको राजधानी कम्पालामा ७७ वटा देशको समूह र चीनको शिखर सम्मेलनलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वलाई एक टिन्डरबक्सका रूपमा वर्णन गरेका छन् । यस क्षेत्रभरि द्वन्द्व रोक्न आवाश्यक सबै पहलकदमी लिन अपील गरेका छन् ।

इजरायली र प्यालेस्टिनीहरूका लागि दुई राज्य समाधानका लागि आफ्नो समर्थन दोहो-याउँदै महासचिव गुटेरेसले इजरायलको सैन्य कारबाईले व्यापक विनाश निम्त्याएको बताएका छन् ।

तीन महीनाभन्दा बढी लामो समयदेखि जारी तीव्र बमबारीपछि गाजाका क्षेत्रमा मनावीय आवश्यकता प्रकाश पार्दै ओसिएचएले गाजामा अहिले १५ वटा मात्र बेकरी सञ्चालनमा रहेको बताएको छ ।

तर राफाहमा छवटा र देइर अल बालाहमा नौवटा र वादी गाजाको उत्तरमा कुनै पनि खुला छैनन् । यी लगभग सबै कार्यरत बेकरीहरूले संयुक्त राष्ट्रसङ्घ विश्व खाद्य कार्यक्रमबाट सहयोग खोजेका छन् । जहाँ पीठो, नून, खमीर र चिनी आदि खाद्य पदार्थ उपलब्ध छन् ।

यस पहलको माध्यमबाट करीब अढाई लाख मानिसले अनुदान मूल्यमा खानेकुरा किन्न पाएका छन् । ओसिएचएले आइतवार आपत्कालीन अवस्थाबारे आफ्नो पछिल्लो अपडेटमा उल्लेख गरेको छ ।

यसैबीच, प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सी युएन आरडब्लुएले सोमवार दूरसञ्चार सेवा बन्द सातौं दिनमा प्रवेश गरेको जनाएको छ ।

आफ्नो सबैभन्दा पछिल्लो अपडेटमा युएनआरडब्लुएले गाजाभित्र आन्तरिक विस्थापित व्यक्तिको सङ्ख्या १७ लाख पुगेको खुलासा गरेको छ । तीमध्ये एजेन्सीका सुविधाहरूमा शरण लिंदा कम्तीमा ३३५ जनाको मृत्यु भएको छ भने एक हजार १६१ जना घाइते भएका छन् ।

साथै अक्टोबर ७ देखि युएनआरडब्लुएका १५१ जना कर्मचारी सदस्यहरू मारिएका छन् भने यसका
१४१ वटा प्रतिष्ठान क्षतिग्रस्त भएका छन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here