प्रस, निजगढ, ८ माघ/
वन अतिक्रमणविरुद्ध पक्राउ पुर्जी जारी भएको चार महीनापछि वन समूहका अध्यक्ष पक्राउ परेपछि मुद्दा लागेका एकै गाउँका २० जनाभन्दा बढी मानिसले गाउँ छाडेका छन् ।

निजगढ नगरपालिका–२ सिंगौलस्थित वनदेवी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सिद्धबहादुुर थापालाई गत पुुस २८ गते पक्राउ गरी डिभिजन वन कार्यालय, बाराले अनुुसन्धान अघि बढाएपछि बारा जिल्ला अदालतले पाँच दिने म्याद थप गरेको डिवका, बाराले जनाएको छ ।
बारा जिल्ला अदालतले २०८० भदौ १५ गते २६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि अन्य व्यक्तिहरू फरार भएका थिए ।

सामुुदायिक वन समूहको वन क्षेत्र आबादी गराएको आरोपमा २०७३ असार २० गते अख्तियार दुरुपयोग अनुुसन्धान आयोगमा उजूरी परेको थियो । अख्तियारले २०७७ असार ११ गते निर्णयसहित दोषी देखिएका व्यक्तिमाथि कारबाई प्रक्रिया अघि बढाउन डिवका, बारालाई पटकपटक पत्राचार गरेको र सोही क्रममा सतर्कता केन्द्रमा उजूरी परेपछि २०७९ पुुस २१ गते आवश्यक कारबाई अघि बढाउन सतर्कता केन्द्रबाट पनि पत्राचार भएको थियो ।

सो वन समूहको २० हेक्टरभन्दा बढी वन क्षेत्र आबाद भएको उजूरी परेको उक्त मुद्दाका अनुसन्धान अधिकारी एवं वन अधिकृत रघुनाथ दासले बताए ।

आबाद गरिएको वन क्षेत्रमा स्थानीय नेपाल राष्ट्रिय मावि, लोकप्रिय आधारभूत विद्यालय, नेपाल राष्ट्रिय आधारभूत विद्यालय, टाँसी छोइलिङ गुुम्बा, टाँसी धार्गेलिङ बौद्ध गुुम्बा, रुद्रधर महादेव, श्रीकृष्णप्रणामी मन्दिर, सरस्वती आधारभूत विद्यालयलगायत जमीन भागबन्डा गरी आबादीमा संलग्न तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रअ, गुम्बाका अध्यक्ष, मन्दिरका अध्यक्षलगायत २६ जनाविरुद्ध बारा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको हो ।

आबाद गरिएको वन क्षेत्रमा निरन्तर मौसम अनुसार बाली लगाउनुुका साथै केराबाली लगाइँदै आएको छ । तत्कालीन माओवादी सशस्त्र द्वन्द्वताका फँडानी गरिएको सो वन क्षेत्रमा स्थानीय बासिन्दाहरूले मानवबस्ती बसाल्न रोक लगाएका थिए । अतिक्रमण गरिएको वन क्षेत्रमा सार्वजनिक, सामुुदायिक विद्यालय, मठमन्दिर, गुुम्बा, सङ्घसंस्था सञ्चालनका लागि जमीन भागबन्डा गरी खेतीपाती र ठेक्कासमेत लगाइँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here