प्रस, वीरगंज, ८ माघ/
वीरगंजमा थप नयाँ होटल सञ्चालनमा आएको छ । वीरगंज महानगर–५ कन्या माविअगाडि सञ्चालनमा आएको वृन्दावन होटलको सोमवार नगरप्रमुख राजेशमान सिंहले उद्घाटन गरे । होटल सञ्चालक पप्पु सर्राफले १० करोड लागतमा सुविधासम्पन्न होटल सञ्चालनमा ल्याएको बताए । सर्राफ परिवारद्वारा नै वीरगंजमा अनमोल स्वीट्स र हेटौंडामा अनमोल होटल तथा स्वीट्स सञ्चालनमा छन् ।
हेटौंडा र वीरगंजको अनमोलसँगै अहिले वृन्दावन होटल सञ्चालनमा आएको र यसलाई सफलतापूर्वक अगाडि बढाउने उनले बताए । दुई वर्ष अवधिमा निर्माण भएको सो होटल छ तले छ भने त्यसमा ३० वटा सुविधासम्पन्न कोठा, दुईवटा ब्याङ्कवेट हल, एउटा समारोह हल र एउटा रेस्टुरेन्ट छ । होटल सञ्चालनमा आएसँगै प्रारम्भमा ३० जनाले रोजगार पाएको सञ्चालक सर्राफले बताए ।
यसैगरी, वीरगंजको घण्टाघर लिङ्करोडमा हार्डवेयरका सामग्री बिक्री गर्ने स्टोर सञ्चालनमा आएको छ । वीरगंजका चारजना व्यवसायीको संयुक्त रु चार करोडको लागतमा इशा बिल्डमार्ट सञ्चालनमा आएको हो ।
मार्टका सञ्चालकहरूमा सन्दीप अग्रवाल, अनुप अग्रवाल, राकेश सर्राफ र दिनेश बक्का रहेका छन् । मार्टको उद्घाटन पनि नगरप्रमुख सिंहले गरेका थिए । १० जनाले प्रत्यक्ष रोजगार पाएको सो मार्टमा सेनिटरी, हार्डवेयरलगायत निर्माण सामग्री पाइन्छ ।