प्रस, रौतहट, ७ माघ/
रौतहटका विभिन्न मन्दिरहरूमा पूजापाठ तथा सरसफाइ आइतवारदेखि शुरू भएको छ ।
माघ ८ गते सोमवार मित्रराष्ट्र भारतको अयोध्यामा नवनिर्मित राममन्दिरको प्राणप्रतिष्ठा हुने भएकोले रौतहटका विभिन्न धार्मिकस्थलहरूमा सरसफाइका साथै आजदेखि पूजापाठ शुरू भएको छ ।
गौर नगरपालिका–५ स्थित श्रीराम मन्दिरको कलशयात्रा आज निस्केको छ भने नगरका विभिन्न मन्दिरहरूबाट पनि कलशयात्रा निकालिएको थियो ।
परोहा नगरपालिकाले सूचना प्रकाशित गरी धार्मिकस्थलहरूमा भगवान् रामजानकीको मूर्ति स्थापना तथा प्राणप्रतिष्ठा धार्मिक अनुष्ठान कार्यक्रम हुने भएकोले नगरभित्र माघ ७ र ८ गते कुनै पनि पशुपक्षी, जीवजन्तुको वध तथा माछामासु बिक्री वितरण नगर्न सूचना जारी गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महमद महफुज अहमदले बताए ।
गौर नगरपालिकाले पनि सूचना जारी गरी माघ ८ गते मर्यादा पुरुषोत्तम श्रीरामको प्राणप्रतिष्ठा हुने शुभ मुर्हूत रहेकोले गौर नपा–५ रामजानकी मन्दिरलगायत नगरका अन्य मन्दिरहरूमा प्राणप्रतिष्ठा तथा पूजाआजा गर्नुका साथै घरघरमा दीपावली मनाउन आग्रह गरेको छ ।