अहिले लिएको ऋण नतिर्नेहरूको बोलवाला बढेको छ । विभिन्न राजनीतिक दलहरू चहारेर अहिले अभिन्यता बनेका दुर्गा प्रसाईंको आह्वानमा लघुवित्त, सहकारी र बैंकहरूबाट ऋण लिएकाहरूले साँवा र ब्याज तिर्न बन्द गरेका छन् । यो क्रम पाँच महीनादेखि चलेको हो । उनी आफैंले पनि अर्बाैं रुपैयाँ ऋण लिएको कुरा प्रकाशमा आएको छ । आफूले लिएको ऋण तिर्न बन्द गरेका प्रसाईंको लहैलहैमा परेर देशभरिका लघुवित्त, सहकारी र बैंकहरूको ऋण नतिर्नेहरूको सङ्ख्या बढ्दो छ । यसै पनि देश आर्थिक सङ्कटबाट गुज्रिरहेको छ र ऋणीहरूले साँवा र ब्याज नतिरेपछि बैंक, वित्तीय संस्थाहरूको अवस्था नाजुक बन्दै जान्छ । ऋण लिएपछि तिर्नुपर्छ भन्ने सामान्य सिद्धान्तविपरीत अहिले देशभरि ऋण नतिर्नेहरूको सङ्ख्या बढेको छ । यो राम्रो सङ्केत होइन । साहु, महाजनबाट लिएको ऋणको चक्रवर्ती ब्याजका कारण एकथरी समुदाय पीडित बनेको छ । गरीब, निमुखा, विपन्नहरूलाई ऋण दिने साहु, महाजनहरूले चर्काे ब्याज लिने र समयमा साँवा, ब्याज नतिर्नेहरूलाई ब्याजमाथि ब्याज थोपरिने गर्छन् ।

साहु, महाजनसँग तमसुक गरेर ऋण लिनेहरूले तीन गुणा बढीको कागज गर्नुपथ्र्यो । त्यस्तै, प्रचलित ब्याजभन्दा दोब्बरी बढी तिर्नुपथ्र्यो । कतिपय अवस्थामा गरीब, दलित, विपन्न परिवारका जायजेथा साहु, महाजनहरूले हड्पिंदै आएका छन् । उनीहरूको यस प्रकारको पीडादायी जीवनका बारेमा सरकारलाई महसूस गराइएपछि सरकारले अनुचित लेनदेनमा सक्रियहरूविरुद्ध कदम चाल्यो । अनुचित लेनदेन (मिटरब्याजी)विरुद्ध सरकारले आयोग बनायो र जिल्ला प्रशासन कार्यालयमार्फत यस्ता मुद्दाहरूको छिनाफानो, कसूरवारहरूलाई मुद्दा आदि गर्ने व्यवस्था ग-यो । गरीब, दीनदुःखी, विपन्न, दलितहरूलाई लक्षित गरेर शुरू भएको अनुचित लेनदेनका मुद्दामा लाखौं, करोडौं रुपैयाँ लेनदेनका कारोबारीहरू पनि सामेल भए । फगत जिप्रकाहरू लक्षितवर्गको मुद्दाबाट विमुख भए र साहु, महाजनको चङ्गुलमा फस्दै गए । सानो प्रकृतिका लेनदेन बहस, छलफलमा परेनन् र पीडितहरू न्याय पाउनबाट वञ्चित भए । सरकारबाट न्याय पाउन नसकेको यो वर्ग अहिले घरको न घाटको भएको छ । साहु, महाजनले ऋण दिन छाडेका छन् । बैंक, वित्तीय संस्थाहरूमा उनीहरूको पहुँच छैन । यो वर्गको अवस्था यस्तो छ भने बैंक, वित्तीय संस्थाहरूबाट ऋण लिएर नतिर्नेहरू पनि सङ्कटबाट गुज्रिरहेका छन् । पाँच महीनादेखि साँवा र ब्याज नतिरेर बसेकाहरूको आर्थिक भार बढ्दो छ ।

बैंक वित्तीय संस्थाहरूले बिहानै–बेलुकी ताकेतामाथि ताकेता गर्दैछन् । प्रसाईंको आन्दोलनको गन्तव्य छैन । ऋणीहरूले बैंक, वित्तीय संस्थाहरूबाट लिएका ऋणको ब्याज तिर्न सकेनौं, सरकार माफी गराइदेऊ भन्ने कुरा केही हदसम्म सुहाउँदो होला तर साँवा मिनाहा गर्ने कुरा कति पनि सुहाउँदो छैन । लिएको ऋण तिर्दिनँ भन्नै मिल्दैन । कसरी तिर्ने भन्ने कुरा हो । साँवाको ब्याज मात्र तिर्दातिर्दा थाकेकाहरूले सरकार ब्याज माफ गराइदेऊ भन्न सक्छन् । अहिले साँवा र ब्याज नतिर्ने लहडबाजी सुहाउँदो होइन । यस कुरामा ऋणीहरूले पुनर्विचार गर्नैपर्छ । होइन भने आर्थिक अराजकताले मुलुक झन् पीडित बन्दै जानेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here