काठमाडौं, ५ माघ/रासस
नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले बदली र हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार शुक्रवार काठमाडौंको आकाश आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ ।

“पहाडी भूभागहरूमा बदलीको अवस्था रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । तर वर्षाको सम्भावना कमै रहेको छ । तराईको भूभागको हुस्सु तराईको पश्चिम भेगबाट हट्दै गएको छ । ठूलो वर्षा गराउने मौसमी प्रणाली छैन,” मौसमविद् मानन्धरले भनिन् ।

तराईतिर हुस्सु कुहिरो लागेका बेला चीसो बढ्ने तथा उच्च पहाडी तथा हिमाली क्षेत्रमा बदली र हल्का हिमपातको सम्भावना रहेकाले चीसो बढ्ने उनले उल्लेख गरिन् । मौसमविद् मानन्धरले यो महीना बढी चीसोको समय भएकोले चीसोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरिन् ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आज कोशी, बाग्मती र गण्डकी प्रदेशका
पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । कोशी, बाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले माघ ५ देखि ११ गतेसम्मका लागि जारी गरेको साप्ताहिक कृषि, मौसम पूर्वानुमान अनुसार यो साताभरि पश्चिमी वायुको आंशिक प्रभाव रहनेछ । कर्णाली प्रदेशको हिमाली भूभागमा साताको मध्य र अन्त्यमा थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।

कोशी प्रदेशको हिमाली भूभागमा साताको शुरू र अन्त्यमा एक/दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा र हिमपातका साथै थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । साताको मध्य र अन्त्यमा कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा पनि हल्का वर्षाको सम्भावना रहेको छ ।

देशका अधिकांश स्थानका अधिकतम तथा न्यूनतम तापक्रम हल्का घट्ने सम्भावना रहेको छ । देशका तराई भूभागमा हल्कादेखि मध्यम साथै एक/दुई स्थानमा बाक्लो हुस्सु लाग्ने तर उक्त हुस्सु मध्याह्न वा अपराह्नसम्ममा क्रमिकरूपमा सुधार हुँदै जाने सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here