प्रस, पोखरिया, ४ माघ/
पोखरिया नगरपालिका–४ स्थित स्वालम्बन लघुवित्त तथा वित्तीय संस्थाका शाखा प्रमुख राजेन्द्र विश्वकर्मा कार्यालय समय सकिएपछि एकजना ऋणीकहाँ बैंकिङ कारोबारको लागि जाँदा दुव्र्यवहारको शिकार भएका छन् ।

पोनपा–४ सतवरियामा शाखा प्रमुख विश्वकर्मालाई लघुवित्त तथा वित्तीय संस्था पीडित सङ्घर्ष समिति, पर्साका अध्यक्ष शिव साहलगायतले दुव्र्यवहार गरेको प्रमुख विश्वकर्माले आरोप लगाए । आफू निचुटाबाट मङ्गलवार साँझ कार्यालयमा आएको र त्यहाँबाट पाँच मिनेटको दूरीमा रहेको ऋणी श्रीमती दुबेको घरमा गएको र सो बखत आफूसँग ऋणीका छोरा सुनील दुबे, सङ्घर्ष समितिका शिव साहलगायत चार/पाँच जनाले दुव्र्यवहार गरेको बताए । उनले श्रीमती दुबेले संस्थाबाट रु १० लाख ऋण लिएको र पाँच महीनादेखि सोको साँवा–ब्याज नतिरेकोमा निजलाई साँवा–ब्याज तिर्न पत्र बुझाउन जाँदा दुव्र्यवहार भएको आरोप लगाएका छन् ।

तर ऋणी श्रीमती दुबेका छोरा सुनील दुबेले भने कार्यालय समयपछि प्रमुख विश्वकर्मा घरमा आएर आमाबुबासँग सादा कागजमा सही गराउन खोजेको र आफूले सङ्घर्ष समितिका अध्यक्षलाई बोलाएको र सो क्रममा धक्कामुक्की भएको स्वीकारे ।

घटनाबारे शाखा प्रमुख विश्वकर्माले इलाका प्रहरी कार्यालय, पोखरियामा मौखिक तथा लिखित उजूरी दिएका छन् । प्रहरीले उनको लिखित उजूरी दर्ता गरेको छैन र तीन/चार दिनको समय माग गरी ऋणीसँग बुझेर उजूरी दर्ता गर्ने/नगर्नेबारे जवाफ दिने बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here