प्रस, वीरगंज, ३ माघ/
मधेस प्रदेश सरकारले जनकपुरधामको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा बुधवार स्वाभिमान दिवस मनाउने क्रममा सत्ता गठबन्धनमा रहेको जनमत पार्टीले विरोध गरेको छ ।

मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सरकारले एक वर्ष अवधिमा गरेका २२ पृष्ठ लामा उपलब्धिहरू सार्वजनिक गर्ने क्रममा जनमत पार्टीका कार्यकर्ताहरूले सरकारविरुद्ध नाराबाजी गर्दै विरोध गरेका थिए । जनमत पार्टीका नेताहरूले भ्रष्ट सरकार मुर्दाबाद भनेर गठबन्धन सरकारको आलोचना पनि गरेका थिए ।

यसै क्रममा जनमत पार्टीका केन्द्रीय सचिव बिपी साहले आज विज्ञप्ति जारी गरी मधेस प्रदेश सरकारका छवटा भ्रष्टाचारकाण्डको छानबीन र कारबाईको माग गरेका छन् । उनले विशेष अदालतमा मुद्दा दर्ता रहेको रु १० करोड ३३ लाखको साइकलकाण्ड, एक खर्ब २८ करोड बजेटको मुख्यमन्त्री स्वच्छता अभियान, मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत छोरी शिक्ष्Fा बीमाको छ हजार साइकल गायबकाण्ड र बीमा रकम खातामा जम्मा नगरेको घटना, जानकी मन्दिरमा विद्युतीयकरण एवं सौन्दर्यीकरणको नाममा गरिएको भ्रष्टाचार, झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान सर्लाहीको नाममा १७ करोड ९८ लाख भ्रष्टाचारकाण्ड र शहीद परिवारलाई वितरण गर्न भनेर ल्याइएको भैंसी वितरण ठगी अनुसन्धानलगायतका घटनामा छानबीन हुनुपर्ने र कसूरवारलाई कारबाई गर्नुपर्ने माग गरिएको छ ।

विज्ञप्तिमा मधेस प्रदेश सरकारलाई निकम्मा बनाउने काम भएको र आर्थिक विधेयकबाहेक एउटा पनि विधेयक पारित नभएको, मधेस सरकारमा दलितलाई सहभागी नगराइएको जस्ता आरोपहरू लगाइएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here