प्रस, वीरगंज, ३ माघ/
नेशनल इन्फोटेक (एनआई) कप–२०८० अन्तर्गत बुधवार सम्पन्न खेलमा वीरगंज सेन्ट्रल कलेज र हेटौंडा स्कूल अफ म्यानेजमेन्ट विजयी भएका छन् ।

आज भएको पहिलो खेलमा वीरगंज सेन्ट्रलले चार विकेट अन्तरले ज्ञानदा एकेडेमीलाई पराजित ग-यो । पहिले ब्याटिङ गरेको ज्ञानदाले निर्धारित २० ओभरमा छ विकेट गुमाएर १२० रन बनाएको थियो । ज्ञानदाका धीरज पटेलले ४५, गुड्डु यादवले ४२ र अजय सहनीले १६ रन बनाएका थिए ।

वीरगंज सेन्ट्रलका मुकेश मण्डलले दुई र निकेश गुप्ताले एक विकेट लिए । १२१ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रेको वीरगंज सेन्ट्रलले १९.३ ओभरमा छ विकेट गुमाएर १२१ रन बनाइ विजयी भयो ।

वीरगंज सेन्ट्रलका कमलेश पटेलले ३०, विकाश सर्राफले २०, कमलेश दासले २२ रन बनाएका थिए । ज्ञानदाका प्रयास गुप्ताले दुई र कन्हैया साह तथा आफताब आलमले एक/एक विकेट लिएका थिए ।

त्यस्तै, दोस्रो खेलमा वीरगंज पब्लिक कलेजलाई हेटौंडा स्कूल अफ म्यानेजमेन्टले ३५ रनअन्तरले पराजित गरेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको हेटौंडाले निर्धारित २० ओभरको खेलमा तीन विकेट गुमाएर १३५ रन बनाएको थियो । हेटौंडाका लागि साहेब यादवले ५१ रन बनाए भने जयेन्द्र कुशवाहाले २८ र रामचन्द्र धामीले १५ रन बनाएका थिए ।

१३६ रनको जीतको लक्ष्यसहित मैदानमा उत्रेको वीरगंज पब्लिक कलेज १७.१ ओभरमा सम्पूर्ण विकेट गुमाएर एक सय रन मात्र बनाउन सक्यो । वीरगंज पब्लिकका असरफ हुसेनले २१, सन्दीप सिंहले २० र अरसद हुसेनले १६ रन बनाएका थिए ।

बलिङतर्फ हेटौंडाका प्राञ्जल उपाध्यायले चार विकेट लिए भने गौरव श्रेष्ठ र राजा अहमदले दुई/दुई विकेट लिएको नेशनल इन्फोटेकका निर्देशक मनीष सिंहले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here