• कुमारबन्धु रुपाखेती

सीमा जोडिएकोले अचेल केहीले वीरगंज र रक्सौललाई जुडवा शहर (जुम्ल्याहा शहर) पनि भन्छन् । त्यस्तै, वीरगंज र रक्सौलका केही अगुवाहरूले वीरगंज–रक्सौलको सीमालाई ‘ह्याप्पी बोर्डर’ बनाउने रे १ तर लामो सीमा क्षेत्र बसाइँको मेरो भोगाइ, मेरो अनुभवले जुडवा शहर–ह्याप्पी बोर्डर केहीको रहर मात्र हो जस्तो लाग्छ । वीर शमशेरको वीरगंजभन्दा धेरै अघिदेखि रक्सौल अस्तित्वमा थियो । जुडवा (जुम्ल्याहा)मा थुप्रै चीज समान देखिन्छ, तर वीरगंज–रक्सौलबीच म केही पनि समान र समानता देख्दिनँ । रक्सौलको भूगोल भद्रगोल, सीमारक्षक, भारतीय सुरक्षाकर्मीहरूको रवैया, त्यहाँका बासिन्दाको चालचलन आदि कुनै पनि व्यवहार हाम्रो वीरगंजसँग मेल खाँदैन । धेरै पहिले मानिसहरू मित लगाउँँथे, मितज्यू भनेर सम्बोधन गर्थे तर यो जुडवा शब्द त मितज्यूभन्दा झन् नजीकको नाता भन्ने बुझिन्छ । तर यता नेपालको वीरगंज र उता भारतको रक्सौल । मुलुक नै फरक । पञ्चायतकालदेखि रक्सौलको ६० प्रतिशत व्यापार वीरगंजबाट जाने ग्राहकमा आश्रित छ । त्यता जाने अधिसङ्ख्यकको लक्ष्य किनमेल नै हुन्छ, रित्तो र खाली हात कोही फर्कंदैन । तर पनि सीमा क्षेत्र कटेपछि नेपालीहरूलाई हेप्ने, ठग्ने, लुट्ने, सिलसिला चालू हुन्छ । व्यापारमा ग्राहक भगवान् हुन्छ तर सीमापारि त्यो व्यवहार पाइँदैन । कुनै बखत रक्सौलको डङ्कन अस्पताल हाम्रो उपचारको केन्द्र थियो, अचेल यसको पनि भट्टा बसेको छ । रक्सौलको जाम, धूलो, धूवाँ र उदेक र उराठलाग्दो वातावरण र व्यवहारले यताकालाई बिच्काउँदै आएको छ । दैनिक घरखर्चको सामान किन्न रक्सौल जानेहरू अचेल सस्तो–महँगो वीरगंजमैं खरीद गर्छन् । सत्य त यो हो कि यहाँभन्दा त्यहाँ सामान सस्तो भएकोले हामी गरीब, निमुखाहरूको खरीददारीको गन्तव्य रक्सौल बन्छ । रहरले होइन, बाध्यताले वीरगंजेली रक्सौल लम्कन्छन् । हाम्रो सरकारलाई यो कुरा थाहा छ, तर राजस्वबाट पेट पाल्न पल्केका नेताहरूले झन्–झन् राजस्व बढाउने गरेकाले यहाँ राजस्वमारा तस्करी–धन्दा चम्केको र दैनिक करोडौं रुपियाँँ किनमेलमा रक्सौलमा थन्किन्छ ।

पारि जानेले सस्तो पाएको र राम्रो व्यवहार नपाएको गुनासा गरेकै हुन्छन् । त्यसैले कुनै बखत यताका ग्राहकले खचाखच देखिने रक्सौलमा अचेल यस्तो सिनसिनेरी देखिंदैन । रक्सौलमा स्थानीय यातायात पूरै अव्यवस्थित रहन्छ । दिनभर यहाँको मेनरोडमा शोरगुल र जाम भइरहन्छ । रक्सौल जंक्शनमा रेल टाइममा होइन कुटाइममा आउँछ । ग्राहकलाई चीलले चल्ला झप्टेझैं झम्टिन्छन् । भारु–नेरु लेनदेनमा घपला गर्छन् । रक्सौलमा सन् १९६२ मा एयरपोर्ट बन्यो तर सन् १९७० मा खलास (बन्द) भयो । रक्सौल एयरपोर्ट बन्द भएपछि पूर्वी र पश्चिमी चम्पारण एयरपोर्टविहीन भएको आधा शताब्दी भयो । यहाँको बसपार्क बदहालीमा नर्कजस्तै छ । यात्रीको लागि घामपानी छेक्ने सेड छैन, शौचालय छैन, जहाँतहीं दिसा–पिसाब र फोहोरको गन्ध आउँछ । यसपालि गणतन्त्र दिवस २६ जनवरीलाई भारतले ‘आजादी का अमृत महोत्सव’ भनेर मनाउँदै छ तर रक्सौलमा यसको विपरीत मेनरोडमा छाडा गाईवस्तु, बकरी, गधा, घोडा, कुकुर र सुङ्गुरहरूले रजाइँ गरिरहेका देखिन्छन् । दुर्घटना भन्नेबित्तिकै त्यताका सीमारक्षकहरू आँखा, नाक चम्काएर कुरा गर्न थाल्छन् । नेपाली नम्बर प्लेटका सवारीसाधन त त्यतिकै हेपाइमा परिहाल्छ । अरू त अरू धार्मिक तीर्थयात्रीसमेत यिनको कोपभाजनको शिकार बन्छन् । भारतको सुरक्षार्थ खट्ने नेपाली सुरक्षाकर्मी दशैं बिदामा नेपाल प्रवेश गर्दा तिनलाई पनि बाँकी राख्दैनन् । सौतेनी व्यवहार देखाइहाल्छन् । यस्तो अवस्थामा केको जुडवा र केको ह्याप्पी बोर्डर ? अरू त अरू रक्सौलमा पानपराग, गुटखा, खैनी सेवन गर्नेहरूको पिकदानी सडक नै हो । ङिच्च दाँत चियारेर सडकमा पिच्चपिच्च थुक्नु यिनको बुरी आदत हो । हामीलाई त घीन लाग्छ । नेपाली युवाहरू लागूऔषध सेवनकर्ताको प्रमुख स्थल हो, रक्सौल । हाकाहाकी सेवन गर्ने र वीरगंज छिराउने व्यवस्था छ त्यहाँ । अचम्मको कुरा त के छ भने रक्सौलबाट मुजप्mफरपुर, भागलपुर हवाईसेवाको त्यो मैदानमा अचेल अवैध खेती हुन्छ, वस्तुभाउ चराइन्छ । भनिन्छ, सुगौलीको छपवामा चुनाव प्रचारप्रसारको क्रममा प्रधानमन्त्री मोदी आउँदैछन् र त्यही मौकामा बन्द रक्सौलको हवाईपट्टी पुनः सञ्चालन गर्न अनुरोध गर्ने रे १ अर्काे कुरा गणतन्त्र दिवस होस् अथवा प्रजातन्त्र दिवसको कार्यक्रम होस् रक्सौलभन्दा तामझामले त यहाँ वीरगंजको भारतीय महावाणिज्य दूतावासले गर्छ । रक्सौलमा भद्दा सडक र खुला नालाको नारकीय गन्ध सदाबहार छ । त्यसैले जुडवा शहर र ह्याप्पी बोर्डर बनाउने काम हाम्रो होइन, पारिपट्टिको हो । हाम्रोतिर त धेरै अघिदेखि जनहितका थुप्रै व्यवस्था बोर्डर क्षेत्रमा गरिएका छन् । आजको मितिमा रक्सौलभन्दा विकसित छन्, वीरगंजका अस्पताल र शिक्षण संस्थान । आँखाको शल्यक्रिया गर्न र चिकित्साशास्त्र पढ्न, उपचार गराउन रक्सौलवासीहरू वीरगंज आउँछन् । शान्ति र मनोरम वातावरण छ यहाँको । जतिसुकै अपजस र विवादित कर्म गरे पनि नगरप्रमुख राजेशमानले वीरगंजको सरसफाइ अब्बल बनाएका छन् । यहाँ सडकमा वस्तुभाव देखिंदैन । रक्सौल दुर्गम र वीरगंज सुगम बुझिन्छ । सडक र यातायात तिनको भन्दा वीरगंजको स्तरीय छ । त्यहाँभन्दा यहाँ अपराधको ग्राफ कम छ । पशुप्रेमीहरूको नखराले गर्दा वीरगंजमा भुस्याहा कुकुरको बिगबिगी बढेको छ, जसले गर्दा शहर कुरूप देखिन्छ । बिहार सरकार र भारत सरकारको बेवास्तामा परेको नेपालको प्रवेशद्वार भनिने रक्सौलको खस्ता हालले भारतको चित्र विचित्र भएको देखाउँछ । भारतीय महावाणिज्य दूतावासलाई समेत ‘रक्सौल से वीरगंज अच्छा है’ भन्न कर लाग्छ । दूतावासले यताको सट्टा उता रक्सौलको कायापलट गर्न जुडवा घोषणा गर्न र ह्याप्पी बोर्डर बनाउन सहयोग गर्नुपर्ने देखिन्छ । सङ्गत गुनाको फल भनेझैं रक्सौलको देखासिकी गर्दै वीरगंजमा समेत फूटपाथ ढाकेर व्यापार–व्यवसाय गरिंदैछ । रक्सौलमा त फूटपाथ मात्र होइन, आधा सडक ढाकेर व्यापार हुन्छ र बाँकी सडकमा बेढब किसिमले गाडी पार्किङ, बचेखुचेको सडकमा साइकल, खुम्चावाला, ठेलावाला, चियापसल र के के हो के के सञ्चालनमा छन् । रक्सौलमा सडक खोजेर हिंड्नुपर्ने अवस्था छ । त्यहाँको पूरै मेनरोड अतिक्रमणको चपेटामा देखिन्छ । वीर शमशेरको पालामा वीरगंज नामकरण हुँदा रक्सौल जवान थियो । रक्सौलको त्यतिखेरको चमकदमक र आवाजाही देखेर श्री ५ को सरकारले त्यतिखेर रक्सौल सीमानिर भन्सार र इनरुवा प्रहरी चौकी खोलेको थियो ।

रक्सौलस्थित नेपाल सरकार स्वामित्वको नेपाल रेलवेको जग्गा, घर, नेपाल बैंकको जमीन उहिल्यै अतिक्रमणकारीहरूको शिकार बनाइएको हो । अरू त अरू भारतीय पत्रपत्रिकाका अनुसार नेपाली रक्सी, नेपाली चुलाइ (लोकल रक्सी) र सूर्य चुरोटसम्मले पटनातक हल्लाएको छ रे १ ‘मितेरी पुल’बाट ‘मि’ हटाएर ‘तेरी पुल’ बनाइएको छ । मितेरी पुलबाट ‘तेरी पुल’मा परिणत गरी पुलमा नै भारतीय सुरक्षाकर्मीहरू निर्धक्क चेकजाँच गर्छन् । अनि यस्तो व्यवहार देख्दादेख्दै यत्रो फरक देख्दादेख्दै कसरी जुडवा भन्ने र कसरी ह्याप्पी बोर्डरको संज्ञा दिने ? कहिलेकाहीं त मलाई यो प्रयास ‘काम नपाएकी बुहारी पाडाको … कन्याउ’ जस्तै लाग्छ । रक्सौलमा सार्वजनिक पेसाबखाना, टट्टीखाना, पैखाना नभएकाले घरबाटै निवृत्त भएर जानुपर्छ । खानेपानीसमेत साथमा लानुपर्छ । त्यहाँ मयखाना पनि छैन, शराबबन्दी छ ।

रक्सौलका साँंगुरा सडकमा वीरगंज जस्तो वनवे कतै भेटिंदैन । झन् शहरको बीचमा रहेको रेलवेको ढालाले यहाँको जाम पट्यारलाग्दो पारिदिन्छ । यो ढालाको समस्याले इन्दिरा गाँधीको पालादेखि मोदीकालसम्म टाउको दुखाएकै छ । थुप्रै बुनियादी सुधार भए मात्र रक्सौललाई वीरगंजको जुडवा र सीमालाई ह्याप्पी बोर्डर भन्न सकिएला तर पनि यस्तो प्रयास गर्ने यता र उताकालाई धन्यवाद छ !

अन्तमा अभ्यास भो भने नित्य हुन्छ काम जुनै पनि, पानीको चोटले नित्य खिइन्छ पत्थरै पनि ।
होस्टेमा हैंसे गरौं !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here