प्रस, वीरगंज, २ माघ/
पर्सा जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयहरूको बिदा चीसोका कारण लम्बिएको छ । वीरगंज महानगरपालिकाले माघ ४ गतेसम्म चीसोका कारण विद्यालय बन्द गर्ने घोषणा गरेको छ ।
शिक्षा महाशाखाका अधिकृत हरि राउतले माघ ४ गतेसम्म विद्यालय बन्द गरिएको र ५ गते मधेस प्रदेशमा बलिदान दिवस मनाइने हुँदा पालिकाका सामुदायिक तथा संस्थागत विद्यालयहरू आइतवार ७ गतेदेखि खुला हुने बताए । महानगरले यसअघि पुस २३ गतेदेखि चीसोका कारण वर्षे बिदामा कट्टा हुनेगरी सामुदायिक तथा संस्थागत विद्यालयहरू माघ १ गतेसम्मको लागि बन्द गरेको थियो । आजदेखि खुला हुने भनिए पनि चीसो नघटेपछि वीरगंजलगायत पर्सा जिल्लाका ठोरी, पटेर्वासुगौली, जगरनाथपुर, धोबिनी, कालिकामाई, पकाहामैनपुर, छिपहरमाई, सखुवाप्रसौनी, पोखरिया, पर्सागढी, बहुदरमाई, विन्ध्यवासिनी गरी १४ वटै पालिकाका सामुदायिक तथा संस्थागत विद्यालयहरूको बिदा लम्बिएको छ ।
माघे सङ्क्रान्तिपछि माघ २ गतेदेखि सामुदायिक तथा संस्थागत विद्यालयहरू सञ्चालनमा ल्याउने घोषणा गरेका स्थानीय पालिकाहरूले बिदा थप गरी माघ ७ गतेदेखि विद्यालय सञ्चालनमा ल्याउने सूचना जारी गरेका छन् ।