गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कार पासवानलाई

प्रस, वीरगंज, १ माघ/
गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कार वीरगंजका पत्रकार बृजलाल पासवानलाई सोमवार प्रदान गरिएको छ ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं सांसद अजयकुमार चौरसियाले ५० हजार राशिको पुरस्कार पत्रकार पासवानलाई प्रदान गरेका थिए । कार्यक्रममा सांसद चौरसियाले पत्रकारहरू विषम परिस्थितिमा लोकतन्त्रको रक्षार्थ खटेका र अहिले लोकतन्त्र बचाउने जिम्मेवारी पनि वहन गर्नुपर्ने आग्रह गरे । उनले अहिले मर्यादित पत्रकारिता हुनुपर्ने आवाज उठिरहेकाले यसलाई पनि पत्रकारहरूले गम्भीरतापूर्वक लिनुपर्ने बताए ।

प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले पर्साको पत्रकारिता आदर्शमुखी भएको र यसलाई अझ रूपान्तरित गरेर पत्रकारिता आचारसंहिताको पालना गर्दै पत्रकारिता गर्न सुझाए ।

नेपाल पत्रकार महासङ्घका सचिव दीपेन्द्र चौहानले पुरस्कृत व्यक्तिको छनोट शाखाले उचितरूपमा गरेको बताए । कार्यक्रमका अध्यक्ष एवं शाखा अध्यक्ष अनुप तिवारीले मर्यादित पत्रकारिता गर्न सुझाए । उनले पत्रकार आचारसंहिताको पालना गरी विनाआधार आरोप लगाउने, कलङ्कित पार्ने काम राम्रो नभएको गुनासो पोखे ।

कार्यक्रममा पूर्वअध्यक्ष अशोक तिवारी, प्रेस चौतारी पर्साका अध्यक्ष तुलसी भण्डारी, स्व गिरीका पुत्र गिरीश गिरी, प्रेस युनियन पर्साका अध्यक्ष विजय चौहान, प्रेस सङ्गठन पर्साका अध्यक्ष मनोज पौडेललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्