प्रस, रौतहट, १ माघ/
शीतलहरका कारण बढेको चीसोका कारण गौर नगरपालिकाले माघ ४ गतेसम्मका लागि विद्यालय बन्द गरेको छ ।
बिहान बाक्लो हुस्सुसँगै हावा चलिरहेकोले चीसो बढेको जनाउँदै गौर नगरपालिकाले पालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई वर्षे बिदाबाट कट्टा हुनेगरी माघ ४ गतेसम्म विद्यालय बन्द गर्न सूचनामार्फत निर्देशन दिएको छ । चीसो बढेसँगै विद्यालयहरूमा विद्यार्थी सङ्ख्या घटेका कारण पठनपाठनमा पनि समस्या भएकाले विद्यालय बन्द गरिएको गौर नपाले जनाएको छ ।
चीसो बढेकै कारण गौरमा मानिसहरूको चहलपहल पनि घटेको छ । बजार पनि ढिलो खुल्ने र चाँडो बन्द हुने गरेको छ । नपाले चीसोबाट जोगाउन विभिन्न स्थानमा दाउरा वितरण गरेर आगो बाल्ने कार्य पनि गर्दै आएको छ ।