प्रस, वीरगंज, १ माघ/
बन्दी सुधारगृह (वीरगंज कारागार) मा रहेका भारतीय अपराधीलाई छुटाइदिने भनेर पैसा ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय, बाराले एकजना बिचौलियालाई पक्राउ गरेको छ ।

कलैया उपमहानगरपालिकास्थित बाल एकता बोर्डिङ स्कूलका प्रधानाध्यापक रूपेश स्वर्णकार हत्याकाण्डमा संलग्न रहेको आरोपमा पक्राउ परेका भारतीय अपराधीलाई छुटाइदिने भनेर एक लाख ९२ हजार रकम लिएको कसूरमा बिचौलिया महागढीमाई नगरपालिका–१ निवासी २३ वर्षीया श्यामबाबू साहलाई बारा प्रहरीले पक्राउ गरेको प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।

उनले साहले रूपेश सर्राफको हत्यामा संलग्न सुजित सिंहलाई छुटाउन अदालत र प्रहरीलाई मिलाउने भनेर निजका पिता जयमङ्गल सिंहसँग १६ लाख रुपैयाँ मागेकामा एक लाख ९२ हजार लिएको बारा प्रहरीको दाबी छ ।

सुजित सिंहका बुबा जयमङ्गलले जिल्ला प्रहरी कार्यालय, बारामा श्यामबाबू साहविरुद्ध जाहेरी दिएका थिए । सोही जाहेरीको आधारमा साहलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रउ काफ्लेले बताए ।

प्रहरीले नियन्त्रणमा लिएको साहविरुद्ध ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी मुद्दामा बारा जिल्ला अदालतबाट आइतवार पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रवक्ता न्यौपानेले बताए ।

शिक्षक स्वर्णकारको गोली हानी हत्या गर्ने समूहका मुख्य नाइके भनिएका सिंहलाई पुस १० गते भारतीय सीमासँग जोडिएको छतवा मुसहर्वाबाट बारा प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको थियो ।

स्वर्णकारको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका स्वर्णकारकी प्रेमिका राधा गुप्ता र सुटर सिंहसहित सातजनालाई बारा जिल्ला अदालतले पुस २५ गते पुर्पक्षका लागि कारागार चलान गरेको थियो ।

शिक्षक स्वर्णकार हत्या प्रकरणमा बारा जिल्ला अदालतमा कुल ११ जनाविरुद्ध पुस १६ गते कर्तव्य ज्यान, सङ्गठित अपराध तथा हातहतियार खरखजाना मुद्दा दर्ता भएको थियो । पुस २५ गते सातजनालाई अदालतले पुर्पक्षको लागि जेल चलानको आदेश दिएको थियो ।

हत्यामा संलग्नमध्येका भारत बिहारका मनोज गुप्ता, चञ्चल पाण्डे, रौतहटको मौलापुर नगरपालिका बस्ने विनोदराय यादव र विशालकुमार यादव अझै पक्राउ पर्न सकेका छैनन् । यी चारजना अनुसन्धानकै क्रमदेखि हालसम्म फरार अवस्थामा छन् । गत कात्तिक १३ गते कलैया उपमहानगरपालिकामा स्वर्णकारलाई दिउँसै गोली प्रहार गरी भारतीय सुटरहरूले हत्या गरी फरार भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here