राधेश्याम पटेल, परवानीपुर, १ माघ/
पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले कोभिड व्यवस्थापन समिति पर्साका सबै सरोकारवाला निकाय सतर्क रहनुपर्ने बताएका छन् ।

भारतका विभिन्न राज्यमा कोरोना सङ्क्रमणको नयाँ भेरियन्ट फेला परिरहेको अवस्थामा रक्सौल नाकाबाट भित्रिरहेका सर्वसाधारणमा कोभिड सङ्क्रमण फेला परेको सूचनाका कारण फेरि कोभिड बढ्न सक्ने सम्भावना रहेकोले सरोकारवाला निकायलाई सतर्क रहन उनले निर्देशन दिएका हुन् । कोभिड व्यवस्थापन समिति पर्साका संयोजकसमेत रहेका प्रजिअ भुसालले सोमवार वीरगंज भन्सार क्षेत्रमा निर्माण भइसकेको एक हजार क्षमताको होल्डिङ सेन्टरको निरीक्षण गर्दै सो निर्देशन दिएका हुन् । उनले भोलि दिउँसो ३ बजे कोभिड व्यवस्थापन समिति पर्साको बैठक राखेको जानकारी पनि गराए । बैठकमा आगामी दिनमा कोभिड नियन्त्रणको लागि सरोकारवाला निकायको भूमिका र पूर्वतयारीको विषयमा छलफल हुने उनले बताए ।

एक साताको अवधिमा वीरगंज नाकामा हेल्थ डेस्कले स्क्रिनिङ शुरू गरेको र एकजना नेपाली र दुई भारतीयसहित तीनजनामा कोभिड–१९ को सङ्क्रमण फेला परेकाले चेकजाँचमा कडाइ गरिएको छ भने प्रारम्भिक चरणबाटै सतर्कता अपनाउने आफूहरूको लक्ष्य रहेको प्रजिअ भुसालले भने– “भोलि मङ्गलवारको बैठकमा स्वास्थ्य कार्यालय पर्सा, महानगर स्वास्थ्य शाखा, सुरक्षा निकाय एवं नारायणी अस्पताललगायत सरोकारवाला निकायको सहभागिता रहनेछ ।” उनले वीरगंज भन्सारको यार्डमा निर्मित होल्डिङ सेन्टरमा विद्युत् र खानेपानी आपूर्तिको समस्या रहेकाले सम्बन्धित निकायको सहभागितामा यसको समाधान गरिने आश्वासन दिए ।

दुई वर्षअघि करोडौंको लगानीमा नेपाली सेनाद्वारा निर्मित होल्डिङ सेन्टर स्थानीय, प्रदेश र केन्द्र सरकारले स्वामित्व ग्रहण गर्न नसक्दा अहिले सो संरचना हस्तान्तरण हुन सकेको छैन । कोभिडमा वीरगंज हट स्पट बन्दा नेपाल सरकारको बजेटमा नेपाली सेनाले अक्सिजन आपूर्तिसहितको आइसियू सेवासहितको होल्डिङ सेन्टर निर्माण गरेको थियो । निरीक्षणमा स्वास्थ्य कार्यालय पर्साका जनस्वासथ्य निरीक्षक जयमोद ठाकुर, वीरगंज महानगरका स्वास्थ्य महाशाखा प्रमुख अनिल यादव, नेपाली सेना श्रीजङ्ग वीरगंज ब्यारेकका प्रतिनिधिलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here