काठमाडौं, १ माघ/रासस
आर्थिक वर्ष २०८०–८१ को अर्धवार्षिक समीक्षा अवधिमा सरकारको आम्दानीभन्दा खर्च बढी भएको देखिएको छ । पुस मसान्तसम्म मुलुकले रु ४८ अर्ब ४६ करोड ५७ लाख बराबर बजेट घाटा बेहोरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार बजेटको अर्धवार्षिक समीक्षा अवधिमा वार्षिक लक्ष्यको ३५.१९ प्रतिशत आम्दानी र ३२.३५ प्रतिशत खर्च भएको छ ।
चालू आवका लागि सरकारले कुल रु १४,७२,४८,४७ लाख बराबर राजस्व उठाउने लक्ष्य लिएकोे छ । कार्यालयको तथ्याङ्क अनुसार पुस मसान्तसम्म रु ५,१८,१५,५६ लाख बराबर राजस्व असुली भएको छ । यो वार्षिक लक्ष्यको ३५.१९ प्रतिशत बराबर हो । छ महिनामा कर राजस्वतर्फ ३३.९८ प्रतिशत अर्थात् रु चार खर्ब ४३ अर्ब ५५ करोड २० लाख उठेको छ । गैरकरतर्फ वार्षिक लक्ष्यको ४५.२३ प्रतिशत अर्थात् रु ५२ अर्ब ९४ करोड ७८ लाख बराबर असुली भएको छ ।
चालू आवका लागि कुल रु ४९ अर्ब ९४ करोड ३० लाख बराबर वैदेशिक अनुदान लिने लक्ष्य राखिएकोमा हालसम्म ५.५२ प्रतिशत अर्थात् रु दुई अर्ब ७५ करोड ८० लाख बराबर वैदेशिक अनुदान लिइएको छ । चालू आवका लागि कुल रु १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको वार्षिक बजेट रहेकोमा पुस मसान्तसम्म रु पाँच खर्ब ६६ अर्ब ६२ करोड १३ लाख खर्च भएको छ । यो वार्षिक लक्ष्यको ३२.३५ प्रतिशत बराबर हो । चालूगत शीर्षकमा कुल रु ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख बराबर बजेट छुट्याइएकोमा ३८.३१ प्रतिशत अर्थात् रु चार खर्ब ३७ अर्ब ३८ करोड १२ लाख खर्च भएको छ । चालू शीर्षकमा हालसम्म भएको खर्च वार्षिक लक्ष्यको ३८.३१ प्रतिशत हो ।
त्यसैगरी, पूँजीगत खर्च शीर्षकमा रु तीन खर्ब दुई अर्ब सात करोड ४४ लाख बराबर छुट्याइएकोमा १६.३ प्रतिशत अर्थात् रु ४९ अर्ब २३ करोड ५८ लाख बराबर खर्च भएको छ । वित्तीय व्यवस्थामा रु तीन खर्ब सात अर्ब ४५ करोड ३६ लाख बराबर बजेट विनियोजन भएकामा २६.२ प्रतिशत अर्थात् रु ८० अर्ब ४३ लाख बराबर खर्च भएको
छ ।