धोबिनी र कालिकामाई गापा पूर्णखोप घोषणाको तयारी

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, परवानीपुर, २९ पुस/
आगामी चैत मसान्तभित्र पर्सा जिल्लालाई पूर्णखोप घोषणा गर्ने लक्ष्यका साथ तयारी तीव्र पारिएको छ । पर्साका १४ वटा स्थानीय तहमध्ये ११ वटा पालिका पूर्णखोप घोषणा भइसकेका छन् भने विन्ध्यवासिनी, धोबिनी र कालिकामाई तीनवटा पालिका घोषणा हुन बाँकी छन् । जसमध्ये विन्ध्यवासिनी गापालाई माघ २ गते पूर्णखोप घोषणा गर्ने लक्ष्य राखिएको छ ।

यसै सन्दर्भमा जिल्ला खोप समन्वय समिति, पर्साको बैठकले आइतवार माघ २ गते विन्ध्यवासिनी गापालाई पूर्णखोप घोषणा गर्ने सिफारिश गरेको छ । जिसस, पर्साको सभाहलमा आयोजित बैठकमा यस्तो निर्णय भएको हो ।

जिसस सभापति निरञ्जन साह सोनार (अजय)को सभापतित्वमा भएको कार्यक्रममा जिससका उपसभापति पुरन पटेल, प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल, स्वास्थ्य कार्यालय, पर्साका प्रमुख डा मुक्तिनारायण साह, स्वास्थ्य कार्यालय, पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुर, वीरगंज महानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख अनिल यादवलगायतको सहभागिता थियो ।

बैठकले नारायणी अस्पताल वीरगंजमा विगत लामो समयदेखि बन्द भएको नियमित खोप क्लिनिकलाई सञ्चालनमा ल्याउने निर्णय गरेको छ । कर्मचारी व्यवस्थापनको लागि वीरगंज महानगरपालिकाले सहयोग गर्ने एवं नियमित खोप क्लिनिक सञ्चालनको लागि ठाउँको व्यस्थापन गर्न स्वास्थ्य कार्यालय, पर्साले नारायणी अस्पताललाई पत्राचार गर्ने निर्णय भएको छ ।

नारायणी अस्पतालमा नियमित खोप क्लिनिक बन्द हुँदा त्यहाँ जन्मिने बच्चाहरूलाई सही समयमा खोप लगाउन सकिएको छैन ।

यसैबीच, पर्साका थप दुईवटा पालिकालाई पूर्णखोप घोषणा गर्नको लागि समन्वय बैठकमा निर्णयसमेत भएको छ । पर्साको धोबिनी गापालाई माघ २८ गते र कालिकामाई गापालाई माघ २९ गते पूर्णखोप घोषणा गर्ने निर्णय भएको स्वास्थ्य कार्यालय, पर्साले जनाएको छ ।

धोबिनी गापाको समन्वय बैठकमा गापा अध्यक्ष मदन चौहान, प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार साह, स्वास्थ्य शाखा प्रमुख सञ्जय यादव, स्वास्थ्य संस्थाका प्रमुख एवं स्वास्थ्यकर्मीलगायत सरोकारवालाको सहभागिता थियो भने कालिकामाई गापाका अध्यक्ष वशिष्ठकुमार कलवार, स्वास्थ्य शाखा प्रमुख योगेन्द्र चौरसियालगायत स्वास्थ्यकर्मी एवं युनिसेफका प्रतिनिधिद्वय सुरेश साह र रणबहादुर राणालगायतको सहभागिता थियो ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस