बलिराम शुक्ला, बिरुवागुठी, २८ पुस/
पर्सागढी नगरपालिका–३ स्थित अन्नपूर्णा दुग्ध उत्पादक सहकारी संस्था लिको अध्यक्ष पदको लागि शुक्रवार भएको निर्वाचनमा मीनबहादुर भण्डारी विजयी भएका छन् । भण्डारीले २०० मत ल्याई विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी तोयनाथ पौडेलले १२० मत ल्याएका थिए ।
४५८ सेयर सदस्य मत रहेकोमा ३२१ मत खसेको र एक मत बदर भएको निर्वाचन अधिकृत रोशन तिवारीले जानकारी दिए । बुधवार भएको दुग्ध उत्पादक सहकारीको १७औं साधारणसभाको बन्द सत्रबाट अध्यक्ष पदमा सर्वसम्मत हुन नसकेपछि आज मतदान प्रक्रियाबाट अध्यक्ष पद चयन गरिएको हो । भण्डारीको गाई चुनाव चिह्न थियो भने पौडेलको भैंसी चिह्न थियो । निर्वाचन अधिकृत तिवारीले आजै सर्वसम्मतिबाट तीन सदस्यीय लेखा समितिसमेत चयन गरेको छ । जसमा रामु अगस्ती, टङ्कबहादुर क्षत्री, समीक्षा मिश्रा छन् । साधारणसभाको बन्द सत्रबाट सर्वसम्मतिमा सदस्यहरू नवराज गौतम, भूमा अधिकारी, ध्रुव खड्का, हरिनाथ खड्का, सुनील सुनार, समी तामाङ्ग, चन्द्र पौडेल, सर्जुक माझी चयन भएका थिए ।