पालुङ्गोको सागमा एन्टिअक्सिडेन्ट, क्याल्शियम, सोडियम, क्लोरिन, फास्फोरस, फलाम, खनिज लवण, प्रोटिन, आयरन, भिटामिन ए र सी पाइन्छ । यो आँखाको लागि पनि निकै फाइदाजनक हुन्छ । यति धेरै फाइदा भएर पनि पालुङ्गोको सागबाट केही हानि पनि हुन सक्छ । जस्तै ग्यास्टिक भएको बेला, झाडापखाला लागेको बेला, पथरीको समस्या, पाचनसम्बन्धी समस्या भएको बेला बढी पालुङ्गोको साग खानुहुँदैन ।
पालुङ्गोको साग पौष्टिक हुनुको साथै चाँडै पाकेर तयार हुन्छ । यसैकारण धेरैजसोले पालुङ्गोको साग व्यञ्जनमा समावेश गर्छन् । पार्टी, चाडपर्व तथा ठूल्ठूला होटलमा पनि पालुङ्गोको रेसिपी पाइन्छ । पालुङ्गोबाट पाँचवटा व्यञ्जन सजिलै तयार गर्न सकिन्छ ।
पालुङ्गो परौठाः स्वास्थ्यवर्धक पालुङ्गो परौठा उत्तर भारतमा चीसोको समयमा खाजाको रूपमा बढी खाने गरिन्छ । यसको लागि पालुङ्गोलाई पकाउनुपर्छ । चीसो भएपछि मिक्सरमा त्यसको लेदो बनाउनुपर्छ । त्यसपछि दुई कचौरा गहुँको पीठोमा थोरै नुन र पालुङ्गोको लेदो, कुटेको लसुन र हरियो खुर्सानी मिसाएर मुछ्नुपर्छ । गाईको घ्यूमा परौठा पकाएर दहीसँग खान सकिन्छ ।
पालुङ्गो रोलः पालुङ्गोको लेदोलाई गहुँसँग मिसाएर रोटी बनाउनुपर्छ । त्यसपछि गाजर, भेंडे खुर्सानी, प्याज, लसुन, हरियो खुर्सानी, गोलभेंडालाई मसिनो गरी काट्नुपर्छ । सबै तरकारीलाई एउटा फ्राइपैनमा तेल नराखिकन हलुका आगोमा पकाउनुपर्छ । त्यसपछि यसमा पनीरको टुक्रा राखेर पकाउने । यस मिश्रणलाई पालुङ्गो–पीठोको मिश्रणमा राखेर मुछेर रोटी बेलेर पकाउनुपर्छ ।
पालुङ्गो अमलेटः अन्डामा नुन, बेसार र प्याज, गोलभेंडा राख्नुस् । काटेको पालुक, काटेको लसुन, अदुवा र हरियो खुर्सानी राखौं । तावामा अमलेट पकाएर खान सकिन्छ ।
पालुङ्गो सलादः पालुङ्गोलाई मसिनो गरी काटेर दुई मिनेटसम्म भुट्नुस् । यसमा उसिनेको चना, मसिनो गरी काटेको प्याज, गोलभेंडा, हरियो खुर्सानी, मरिच, नुन र कागतीको रस मिसाऔं ।
पालुङ्गो–भातः उमालेको पालुङ्गोमा दालचिनी, अदुवा र लसुन मिसाएर पिस्नुस् । एउटा फ्राइपैनमा घ्यू तताएर त्यसमा जीरा र तेजपातको फोरन दिनुस् । यसमा पालुङ्गोको लेदो मिसाउनुस् । धोएको चामल र मात्रा अनुसार पानी राखेर पालुङ्गो–भात तयार गर्नुस् ।