ईरिक्शाले ट्राफिक व्यवस्थापनमा समस्या निम्त्याउँदै

0
73

प्रस, परवानीपुर, २६ पुस/
वीरगंजलगायत पर्सा जिल्लाको ट्राफिक व्यवस्थापनमा ईरिक्शाले समस्या निम्त्याइरहेको छ ।

२०७२ सालमा दुईवटा ईरिक्शाबाट सञ्चालनमा आएको र अहिले अनधिकृतरूपमा पाँच हजारभन्दा बढी ईरिक्शा सञ्चालनमा छन् ।

वीरगंज महानगरपालिकामा केवल तीन सयको हाराहारीमा ईरिक्शा दर्ता छन् । अहिले महानगरमा चल्ने ईरिक्शा, रूट परमिट महानगरपालिकाको कार्यालयले जारी गर्छ तर सो कार्यालयमा तीन सयवटा मात्र दर्ता छन् भने बाँकी रिक्शा अवैधरूपमा सञ्चालनमा छन् ।

अहिले धमाधम ईरिक्शाहरू सञ्चालनमा आइरहेको र यसलाई नरोक्ने हो भने आगामी वर्ष वीरगंजमा ट्राफिक समस्या विकराल बन्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्ष्Fक भाष्कर खतिवडाले बताए । उनले ट्राफिक व्यवस्थापनको लागि अहिले ईरिक्शा टाउको दुःखाइ बनेको र यसका लागि नयाँ रिक्शाको बिक्रीमा सम्बन्धित निकायले रोक लगाउनुपर्ने बताएका छन् ।

ईरिक्शा सञ्चालकहरूले अहिले विनाकागज र सवारी चालक अनुमतिपत्रबेगर नै सञ्चालन गरिरहेका छन् ।

यातायात कार्यालयले ईरिक्शाको लागि सवारी चालक अनुमतिपत्र जारी नगरेको लामो समय भइसकेको छ । दुई सयभन्दा मुनि ईरिक्शाचालकहरूको सवारी चालक अनुमतिपत्र छैन । बाँकी ईरिक्शा सञ्चालकहरू सवारी चालक अनुमतिविना नै सञ्चालन गरिरहेका छन् ।

पर्सा जिल्लामा ईरिक्शा अवैधरूपमा सञ्चालन भएको र हाल राजमार्गमा पनि गुडिरहेको भन्दै वीरगंज–पथलैया सिटी बस व्यवसायी सङघ, वीरगंज–पथलैया–परवानीपुर मझौला यातायात व्यवसायी सङ्घ र बारा–पर्सा मझौला यातायात व्यवसायी सङ्घले ट्राफिक कार्यालयको ध्यानाकर्षण गराएको थियो ।

रूट परमिटविना हाइवेमा सञ्चालन हुँदा वीरगंज–पथलैया चल्ने सिटीराइड, मारूती, म्याजिक भ्यानको कारोबार प्रभावित भएको भन्दै उनीहरूले अवैध तरीकाबाट सञ्चालित ईरिक्शा नियन्त्रण गर्न माग गरेका थिए । ट्राफिक प्रहरीले अहिले गण्डकदेखि अगाडि ईरिक्शा सञ्चालनमा रोक लगाएको र अटेर गर्नेलाई चेकजाँचमा दैनिक एक हजार जरिवाना गर्ने गरिएको गण्डक ट्राफिकका प्रसनि रामभक्त यादवले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here