प्रस, सिम्रौनगढ, २५ मङ्सिर/

तलबको माग गर्दै ५५ दिन धर्नासहितको आन्दोलनमा रहेका सिम्रौनगढ नगरपालिकाका शिक्षक, कर्मचारीहरूले सोमवार कालो झन्डासहित विरोध प्रदर्शन गरेका छन् । 

धर्नास्थल नगरपालिका कार्यालयबाट निकालिएको विरोध जुलूसले ‘शिक्षक एकता जिन्दाबाद’, ‘स्थानीय सरकार मुर्दाबाद’, ‘मेयर तिम्रो पाराले दुःख पाए साराले’ नारासहित नगरपरिक्रममा गरेर तरकारीबजारमा कोणसभा गरी समापन भएको थियो ।

नेपाल शिक्षक सङ्घ सिम्रौनगढ नपा कमिटी अध्यक्ष उमाशङ्कर यादव नेतृत्वको जुलूसपछि भएको कोणसभामा बृजकिशोर यादव, राजकिशोर यादव, वडाध्यक्ष दिनदयाल मुखिया, रामएकबालप्रसाद यादव, करार कर्मचारी सङ्घका अध्यक्ष नितेशकुमार यादवले नगरप्रमुखको अर्कमण्यताका कारण करार, अस्थायी र बालविकाससहित स्थायी शिक्षकहरूले अहिलेसम्म तलब नपाएको आरोप लगाए ।

सिम्रौनगढ नपाका करार, अस्थायी, बालविकासका शिक्षक, कर्मचारीहरूले शुरूमा तलब नपाएको विरोधमा नपा कार्यालयअगाडि धर्ना दिंदै आएका थिए । त्यसपछि गत बिहीवारदेखि नपामा रहेका ३५ वटै सामुदायिक विद्यालयका शिक्षक, कर्मचारीहरूले विद्यालयमा तालाबन्दी गरेर धर्ना र आन्दोलन शुरू गरेका हुन् ।

अहिले सो नपाका सामुदायिक विद्यालयहरू बन्द छन् । करार, अस्थायी शिक्षक, कर्मचारीहरूले १० देखि १४ महीना, बालविकासका शिक्षक, कर्मचारीले  नौ महीना र स्थायी शिक्षकहरूले पाँच महीनादेखि तलब पाएका छैनन् । तलब नपाउन्जेल विद्यालय बन्द गरेर धर्ना, आन्दोलनका कार्यक्रम जारी राख्ने नेपाल शिक्षक सङ्घ सिम्रौनगढका अध्यक्ष यादवले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here