किसानलाई उचित मूल्य उपलब्ध गराउन भन्दै सरकारले हरेक वर्ष धानको समर्थन मूल्य निर्धारण गर्दै आएको छ । तर सरकारको लापरबाहीका कारण किसानको नाममा बिचौलिया र व्यापारीले रजाइँ गर्दै आएका छन् । समयमैं मूल्य निर्धारण नहुने समस्या छँदैछ । धान रोप्नुअघि नै धानको न्यूनतम समर्थन मूल्य तोकिनुपर्नेमा प्रत्येक वर्ष धान पाकेपछि मात्रै समर्थन मूल्य तोकिने गरेको छ । यसरी मूल्य तोक्दा पनि किसानभन्दा व्यापारीको हितलाई मध्यनजर गरी न्यूनतम मूल्य निर्धारण गरिन्छ । किसानको परिश्रम, लागत र जग्गाको भाडा कटाएर कम्तीमा २५ प्रतिशत रकम किसानलाई मुनाफा हुनेगरी न्यूनतम मूल्य निर्धारण गरिनुपर्ने अन्य मुलुकहरूको चलन छ । हाम्रो मुलुकमा त्यसो हुँदैन । भारतीय धानको मूल्यलाई हेरेर त्यसैको समान हुनेगरी नेपाली धानको मूल्य निर्र्धारण गरिंदै आएको छ । भारतीय धानको मूल्यमा व्यापारीले नेपाली धान पाऊन् भन्ने सरकारी शदासयता देखिन्छ । भारतीय किसानलाई भारत सरकारले दिने अनुदान, सहुलियत र आधुनिक कृषि उपकरणको उपलब्धतातर्फ नेपाल सरकारको ध्यान जाँदैन । किसानको असन्तुष्टिलाई साम्य पार्न कुनै वर्ष धानको समर्थन मूल्य सरकारले केही बढी तोकेछ भने पनि त्यो वर्ष सरकारले धान खरीद गर्दैन । जुन वर्ष धानको समर्थन मूल्य लागतभन्दा कम तोकिन्छ, त्यो वर्ष भने धान खरीदका लागि तयार रहेको नाटक सरकारले गर्छ ।

सरकारले मूल्य निर्धारण गरेपछि त्यसको कार्यान्वयन गर्ने निकाय खाद्य व्यवस्था तथा व्यापार कम्पनी हो । गत वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरीदमा विलम्ब गरेको थियो । धान खरीदमा सरकारले आलटाल गर्यो भने कृषक बाध्य भएर व्यापारीलाई धान सुम्पन बाध्य हुनेछन् । त्यति बेला धानमा किसानले होइन, व्यापारीले भाउ तोक्ने मौका पाउँछ । मुलुकभित्र धान उत्पादन कति हुन सक्छ भन्ने कुरा मौसमको अवस्था, रोग–कीरा, बालीको स्तर एवं क्षेत्रफलको विश्लेषण गरेर सरकारले अग्रिमरूपमा पत्ता लगाइसकेको हुन्छ । थाहा हुँदाहुँदै पनि सरकारले लागतसमेत नउठ्ने गरी समर्थन मूल्य तोकिदिन्छ । सरकारी मूल्य कम भएपछि किसान धान लिएर व्यापारी वा बिचौलियाकहाँ पुग्नेछन् । यसो हुँदा फेरि पनि धानको मूल्य निर्धारण किसानबाट नभई व्यापारी वा बिचौलियाबाट हुनेछ । यस वर्ष मौसम र धानबालीमा रोगको कारण धान लगाइएको क्षेत्रको अनुपातमा धान उत्पादन निकै कम हो । यही वर्ष भारतीय धानको आयात हुन नपाएको हुँदा गत वर्षभन्दा धानको समर्थन मूल्य निकै बढी हुनेछ भन्ने किसानको अपेक्षा थियो । किसानहरू आफ्नो उत्पादनले बजारमा उचित मूल्य पाउँछ भन्ने कुरामा कहिल्यै पनि सुरक्षित महसूस गरेको अवस्था छैन, जसले गर्दा कृषिमा लगानी गर्न अनिच्छुक देखिन्छन् । जब मौसम अनुकूल हुन्छ, किसानहरू उत्पादन राम्रो हुने भयो भनेर खुशी हुन्छन् । तर जब बाली भिœयाउँछन् र उत्पादन अपेक्षितरूपमा राम्रो हुन्छ, तब समस्याको गम्भीरता शुरू हुन्छ । अर्थात् आफ्नो उत्पादनको उचित बजारको अनुपलब्धतासँग जोडिन्छ र दुःखी हुनुपर्ने अवस्था आइदिन्छ । उपभोक्ताले जतिसुकै महँगोमा धान, चामल खरीद गर्नुपरेको भए तापनि हरेक वर्ष किसानले  कृषि उत्पादन कम मूल्यमा बेच्न बाध्य छन् । यस क्रममा कुनै वर्ष त उत्पादन लागतभन्दा पनि मूल्य तल जाने गरेको पाइन्छ । मूल्य पर्खने फुर्सद किसानसँग छैन, किनकि पाकेको फसल बेचेर नै उसले अर्को बाली लगाउनु छ । त्यसैगरी,  अन्न सुरक्षित भण्डारण गर्ने भण्डारघरको व्यवस्था पनि त छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here