प्रस, पोखरिया, २४ मङ्सिर/
स्ट्रीट चाइल्ड अफ नेपाल र आसमान नेपालको सहकार्यमा सञ्चालित आधारभूत निर्माण परियोजना अन्तर्गत विन्ध्यवासिनी र पकहामैनपुर गाउँपालिकाका शिक्षकहरूका लागि विद्यालयमा उपयुक्तस्तरमा सिकाइ गराउनेसम्बन्धी आठ दिने तालीम वीरगंजमा आइतवारदेखि शुरू भएको छ ।
परियोजनाका प्रदेश संयोजक प्रियङ्का साहको अध्यक्षतामा भएको कार्यक्रमको पकाहामैनपुरका प्रमुख प्रशासकीय अधिकृत उदयशङ्कर चौधरीले उद्घाटन गरेका थिए । उनले गापाको शैक्षिक अवस्था सुधारमा तालीम प्रभावकारी हुने बताए । शिक्षकहरू दक्ष भएपछि विद्यार्थी सङ्ख्यामा वृद्धि हुने उनले विश्वास व्यक्त गरे । उद्घाटन सत्रमा पकाहामैनपुरका शिक्षा संयोजक कपिल लामिछाने, शिक्षक मुकलेश गदीलगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा स्वागत श्यामसुन्दर यादव तथा सहजीकरण धर्मेन्द्र चौरसियाले गरेका थिए ।
तालीममा दुई गापाका ४३ जना शिक्षकको सहभागिता रहेको र सहभागीहरूलाई विजय महतोले प्रशिक्षण दिइरहेका छन् । कोभिडको समयमा दुईपटक गरी विद्यालयहरू १६ महीना बन्द रहेको र विद्यार्थीको सिकाइमा भएको क्षतिलाई पूर्ति गर्न वैकल्पिक सिकाइको प्रबन्ध गरिनुका साथै सूचना प्रविधिको पहुँच तथा क्षमता बढाउने उद्देश्यले तालीमको आयोजना गरिएको प्रदेश संयोजक साहले बताइन् ।