प्रस, सिम्रौनगढ, २२ मङ्सिर/
सिम्रौनगढ नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयका शिक्षक, कर्मचारीहरू हिजो बिहीवारदेखि विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिएका छन् ।

नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरूमा कार्यरत अस्थायी, करारका कर्मचारी र शिक्षकहरूले तलब नपाएको विरोधमा नगरपालिकाका सबै सामुदायिक विद्यालयका शिक्षक, कर्मचारीहरू हिजोदेखि विद्यालय बन्द गरी आन्दोलनमा उत्रिएका हुन् ।

अस्थायी, करारका कर्मचारी र शिक्षकहरूले तलब नपाएको विरोधमा ५१ दिनदेखि धर्ना दिंदै आएका थिए । उनीहरूको धर्नाप्रति ऐक्यबद्धता जाहेर गर्दै नपामा रहेका पाँचवटा माविसहित ३२ वटा सामुदायिक विद्यालयका शिक्षक, कर्मचारीहरूले बुधवार विद्यालय सकिएपछि तालाबन्दी गरेर प्रमुख प्रशासकीय अधिकृतलाई साँचो बुझाएका थिए ।

उनीहरूले बिहीवारदेखि नपाका सबै विद्यालय बन्द रहने र आफूहरू पनि अस्थायी, करारका कर्मचारी र शिक्षकहरूसँग धर्ना, आन्दोलनमा उत्रने जानकारी गराएका थिए ।

नेपाल शिक्षक सङ्घका नगर अध्यक्ष उमाशङ्कर यादवले अस्थायी, करारका कर्मचारी र शिक्षकहरूको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै सबै शिक्षक, कर्मचारी बिहीवारदेखि विद्यालय बन्द गरेर आन्दोलन गर्ने चेतावनी दिए पनि सोको सुनवाइ नभएपछि विद्यालयमा तालाबन्दी गरेर साँचो प्रमुख प्रशासकीय अधिकृतको जिम्मा लगाएर आन्दोलनमा होमिएको बताए ।

हिजोदेखि आन्दोलनमा होमिएका शिक्षक, कर्मचारीहरूले शुक्रवार धर्नास्थल नगरपालिकाबाट जुलूस प्रदर्शन गरी नगरपरिक्रमा गरेर कङ्काली पुलनिर कोणसभा गरेका थिए । नेपाल शिक्षक सङ्घ सिम्रौनगढ नपाका अध्यक्ष यादवको अध्यक्षतामा भएको कोणसभामा शिक्षकहरू वीरेन्द्र चौधरी, बृजकिशोर यादव, सुरेन्द्र यादव, राजाराम प्रसाद, दीपेन्द्र महतो, ऋषिदेव ठाकुर, राकेश यादव, मुकेश मेहता, नितेश यादवलगायतले लामो समयदेखि तलब नपाएर शिक्षकहरूको आर्थिक अवस्था निकै दयनीय भएको बताए ।

उनीहरूले आर्थिक अवस्था कमजोर भएकै कारण तनावमा स्याङ्गजा निवासी शिक्षक नरेन्द्र पराजुलीको निधन भएको र अरू शिक्षकहरूले पनि निकै तनाव झेल्दै आएको बताए । उनीहरूले करार, अस्थायी शिक्षकहरूले १० देखि १४ महीनासम्मको तलब नपाएका, बालविकासका शिक्षिकाहरूले नौ महीनादेखि र स्थायी शिक्षकहरूले पनि चालू आवको अहिलेसम्म तलब नपाएको बताए । उनीहरूले तलब नपाएसम्म विद्यालय बन्द रहने, धर्ना जारी रहने र आन्दोलनका थप कार्यक्रमहरू गरिने बताए । कार्यक्रमको सहजीकरण शिक्षक सुरेश मुखियाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here