प्रस, रौतहट, २२ मङ्सिर/
गढीमाई नगरपालिकाका प्रमुखलगायत कार्यपालिका पदाधिकारीहरूको निर्णयबाट करारमा चार सय कर्मचारी नियुक्त भएका छन् ।
नगरपालिकामा चार सय कर्मचारी नियुक्त भएपछि नगरपालिकाको आर्थिक भार बढेको छ ।करारमा भर्ना भएका कर्मचारी गणना गर्दा दरबन्दीभन्दा १३ गुणा कर्मचारी बढी छन् । करारका कर्मचारीसहित अहिले नगरपालिकालाई वार्षिक रु ११ करोड तलबबापत भुक्तानी गर्नुपर्ने हुन्छ । अत्यधिक कर्मचारी भारका कारण विकास निर्माणका कार्यहरू प्रभावित देखिएका छन् ।
नगरप्रमुख श्यामप्रसाद यादवले चुनाव जित्नका लागि २५ वटा मत हुने परिवारबाट एकजनालाई जागीर दिने घोषणा गरेका थिए । सोहीअनुरूप अहिले करारमा यतिविघ्न कर्मचारी भर्ना गरिएको हो । नगरप्रमुखसँगै वडाध्यक्ष, कार्यपालिका सदस्यहरूले पनि भागबण्डामा करार कर्मचारी भर्ना गराएको स्रोतले जनाएको छ ।
अहिलेसम्म सम्पन्न योजनाहरूको भुक्तानी गर्ने कि कर्मचारीहरूलाई तलब खुवाउने समस्या भएको र यसै विषयमा नगरप्रमुख, वडाध्यक्षहरू र प्रमुख प्रशासकीय अधिकृतबीच मनमुटाव भएको छ ।
निमित्त प्रशासकीय अधिकृत नागेन्द्र राय यादवले करारका कर्मचारीलाई तलब खुवाउन असमर्थता जाहेर गरेपछि उनको सरुवा गरिएको छ र श्रीदेव यादवलाई नियुक्त गरेर ल्याइएको छ । लेखापाल कामेश्वर सहनी पनि अहिले नगरप्रमुख यादवको आँखाको छारो बनेका र उनलाई पनि सरुवा गराउन नगरप्रमुखले पहुँच बढाएको स्रोतको दाबी छ ।
गढीमाई नपामा अहिले बेथिति यही कारणले बढेको छ । नगरप्रमुखको आदेशमा मात्र भुक्तानीको काम भइरहेको छ । उनले तोक लगाउँछन, आदेश दिन्छन् र भुक्तानीमा पनि उनकै स्वीकृति हुने गरेको छ ।