प्रस, वीरगज, २२ मङ्सिर/
पर्सा प्रहरीले किर्ते ठगी मुद्दाको आरोपमा हिजो एकजना महिलालाई पक्राउ गरेको छ । बहुदरमाई नगरपालिका–२ निवासी सङ्गीतादेवी यादवलाई प्रहरीले ठगी मुद्दामा पक्राउ गरेको बुझिन आएको छ ।

बहुदरमाई नगरपालिकाको चर्चित काण्डमध्ये एक यो किर्ते ठगी मुद्दाका अन्य आरोपीहरू पक्राउ परेका तर यसै मुद्दाका आरोपी वडाध्यक्ष जीतेन्द्र पटेल भने अहिलेसम्म पक्राउ परेका छैनन् । वडाध्यक्ष पटेलले २०७५ सालमा पदको दुरुपयोग गरी कानूनविपरीत सिफारिश गर्दै विकाशप्रसाद यादवकी पत्नीलाई निजकै नक्कली कान्छी आमा बनाएका थिए । मृतक बुबाको निवृत्तिभरणको लागि आफ्नी पत्नीलाई विकाशले आफ्नी कान्छी आमा बनाएका थिए भने सो कार्यमा वडाध्यक्ष पटेलले सिफारिश गरेका थिए ।

वास्तविक कुरा थाहा हुँदाहुँदै वडाध्यक्ष पटेलले विकाशकी पत्नीलाई निजकी कान्छी आमा भएको सिफारिश गरेका र विकाशले बुबाको मृत्युपश्चात् पत्नीलाई कान्छी आमा बनाएर निवृत्तिभरण बुझ्दै आएका थिए । विकासले विगत पाँच वर्षदेखि निवृत्तिभरण बुझ्दै आएका थिए । घटना बाहिरिएपछि शुरूमा ढाकछोप गरिएको थियो तर अहिले मुद्दा परेपछि पतिपत्नीलाई प्रहरीले पक्राउ गरेको छ । तर यसै घटनाका सिफारिशकर्ता वडाध्यक्षलाई भने प्रहरीले पक्राउ गरेको छैन ।

सङ्गीता देवीलाई प्रहरीले हिजो पक्राउ गरेर सात दिने थुना आदेश लिएर अनुसन्धान अगाडि बढाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here