प्रस, सेढवा, २२ मङ्सिर/
लैङ्किक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत शुक्रवार १४औं दिन जीराभवानी गाउँपालिका, क्याप्टिभेटिङ इन्टरनेशनल, आसमान नेपालको संयुक्त आयोजनामा जीराभवानी गापामा -याली, कोणसभा र चित्रकला प्रदर्शनी कार्यक्रम गरिएको छ ।
जीराभवानी गापा कार्यालयबाट निकालिएको -याली विभिन्न नाराहरू लगाएर सेढवा परिक्रमा गरी नेरामावि, सेढवामा कोणसभा गरेको थियो । कोणसभामा गापाका प्रमुख प्रशासकीय अधिकृत अमित गिरीले महिला हिंसाका घटनाहरू विगतका तुलनामा कम हुँदै गएको बताए । उनले महिलाविरुद्धको हिंसामा कानूनी कारबाही हुन थालेपछि घटना न्यूनीकरण हुँदै आए पनि अझै सचेतनाको कमी रहेको र यसका लागि शिक्षा आवश्यक भएको बताए । समाज जति शिक्षित हुन्छ, महिलाविरुद्धको हिंसा त्यत्तिकै कम हुन्छ भन्दै आफ्ना बालबालिकाहरूलाई शिक्षामा जोड दिन सुझाए ।
विद्यालयका प्रधानाध्यापक खेमराज चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा योजना प्रमुख मदन सत्याल, आसमान नेपालका गापा संयोजक धर्मेन्द्र चौरसिया, प्रहरी नायब निरीक्षक अशोक महतोलगायतले महिला हिंसा न्यूनीकरणका बारेमा मन्तव्य व्यक्त गरेका थिए । यसैगरी, अभियानको अवसरमा विद्यालयस्तरीय चित्रकला प्रदर्शनी आयोजना गरिएको थियो । चित्रकला प्रदर्शनीमा बिन्दु कुमारी प्रथम, सोनाक्षी कुमारी द्वितीय, लक्ष्मी कुमारी तृतीय र करीना खातुन चतुर्थ भएका थिए । विजयीसहित सहभागी ५० जना छात्रालाई शैक्षिक सामग्रीबाट पुरस्कृत गरिएको थियो ।
प्रस, पोखरिया/
त्यस्तै, पोखरिया नगरपालिका कार्यालयको आयोजनामा पोखरियामा ¥याली र कोणसभा गरिएको छ ।
पोखरिया नगरपालिका कार्यालय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा निकालिएको ¥यालीमा विद्यार्थी, जनप्रतिनिधि, कर्मचारी, शिक्षकशिक्षिकाहरू सहभागी थिए । ‘महिला हिंसाको अन्त्य गरौं’ नाराका साथ नगरपालिका कार्यालयबाट निकालिएको -याली नगरपरिक्रमा गरी सोही स्थानमा कोणसभा गरेर समापन भएको थियो । -याली महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख हस्तयानी गिरीको अध्यक्षता तथा नगरप्रमुख प्रद्युम्न चौहानको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कोणसभामा निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय श्रीवास्तवले महिला हिंसाविरुद्धको १६ दिने अभियानका कारण महिलाविरुद्ध हुने हिंसामा कमी आएको दाबी गरे । उनले पछिल्लो समय छात्राहरूलाई विद्यालय पढाउने चलन बढेको र विद्यालयहरूमा छात्रा सङ्ख्या बढेको बताए । अहिले पनि छात्रालाई सामुदायिक विद्यालय र छात्रलाई संस्थागत विद्यालयमा भर्ना गर्ने चलन रहेको उनले बताए । उनले शिक्षामा सबैको पहुँच बढेमा महिला हिंसामा कमी आउने बताए । कार्यक्रममा सामाजिक विकास शाखा प्रमुख वाल्मीकि रौनियार, नगेन्द्र साह कानू, शिक्षक उमेश चौहान, शिवशङ्कर यादव, ताराचन्द्र कानू, आसमान नेपालका धर्मेन्द्र चौरसिया लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
यसैगरी, विन्ध्यवासिनी गाउँपालिकाको आयोजना र आसमान नेपालको सहकार्यमा विद्यालयस्तरीय चित्रकला प्रतियोगिता बहुअर्वाभाठामा सम्पन्न भएको छ । कार्यक्रममा निमावितर्फ प्रथम सलोनी कुमारी, द्वितीय मन्तुरी कुमारी, मावितर्फ प्रथम पायल कुमारी, द्वितीय बेबी साह, तृतीय प्रीति कुमारी भएका थिए । कार्यक्रममा प्रमुख अतिथि पालिकाकी उपाध्यक्ष ज्योति चौरसिया, नरेश चौहान, अश्विन मिश्र, शिक्षक नन्दु यादव, आसमान नेपालका रीता साह, नीता पाण्डेलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन आसाराम साहले गरेका थिए ।
प्रस, वीरगंज/
यसैगरी, वीरगंजमा सामुदायिक सेवा केन्द्र ग्रीनसिटी आदर्शनगरको आयोजनामा आदर्शनगरमा महिला हिंसा तथा घरेलु हिंसासम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिएको थियो । ग्रीनसिटीका अध्यक्ष प्रकाश खेतानको नेतृत्वमा प्रहरी चौकी आदर्शनगर र जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साको सहकार्यमा नागरिक समाज, गैरसरकारी संस्थाका सदस्यहरूले सडकपेटीमा हिंड्ने महिला तथा पुरुषलाई पर्चा वितरण गरेका थिए ।