• सञ्जय मित्र
‘यदि … फर्काउन मिल्ने भए
बाल्यकाल र त्यो यौवनलाई
ज्याकारान्डासँगै फुल्ने थिएँ ।’
शीर्षक कविता ‘ज्याकारान्डाको शहर’को अन्तिममा आएका केही पङ्क्ति हुन् यी । पुस्तकको गातामा अगाडि ‘लक्ष्मी रेशमी’ र पछाडि ‘लक्ष्मीदेवी श्रेष्ठ रेशमी’ भनेर चिनाइएको लेखिकाको पुस्तक हो ‘ज्याकारान्डाको शहर’ ।
गोकर्ण, काठमाडौंमा माता लक्ष्मीमाया श्रेष्ठ र पिता हरिबहादुर श्रेष्ठकी पुत्री एमफिल अध्ययनरत ‘रेशमी’को हालको बसाईं रौतहटको चन्द्रनिगाहपुरमा छ । २९ वर्षभन्दा लामो समयदेखि शिक्षणमा रहेकी ‘रेशमी’को प्रस्तुत ‘ज्याकारान्डाको शहर’ सम्भवतः पहिलो कविता–कृति हो । विभिन्न सामाजिक संस्थामा सक्रिय ‘रेशमी’को प्रस्तुत कविताकृतिको पहिलो कविताले कवयित्रीको जन्मथलो देशको राजधानी शहर काठमाडौं ‘ज्याकारान्डाको शहर’ हो भनी बताउँछ । पहिले कहिल्यै नसुनिएको ‘ज्याकारान्डा’ शब्दले नै आकर्षित गर्दछ । अझ कृतिकै नामकरण यही शब्दबाट गरिएको हुनाले एउटा स्वाभाविक आकर्षण यो पनि हुन पुग्दछ कि के छ यसभित्र ? कविता पढ्दा बुझ्न सकिन्छ–‘ज्याकारान्डा’ भनेको ‘शिरीषको पूmल’ रहेछ । यसले गर्दा ‘ज्याकारान्डाको शहर’ले ‘शिरीषको पूmलको शहर’ भन्ने अर्थ दिंदो रहेछ । कविताको गाताको माथिल्लो भागमा पनि अग्लो घन्टाघरसँगै शिरीषको पूmल देखिन्छ । कसैले काठमाडौं रत्नपार्क वरिपरिको शिरीषको पूmल सम्झन्छन् भने जुन सुन्दरता मनमा उब्जिन्छ, कृतिको गाताले सोही सौन्दर्यको उद्घाटन गरेको छ ।
‘ज्याकारान्डाको शहर’ कृतिको पहिलो कविता हो । यो कविता उत्कृष्ट छ । सलल बगेको यस कविताको रचनाशिल्प त गज्जब छ नै, यसको भावपक्ष पनि निकै खाँदिएको छ । बाल्यकाल, काठमाडौं, रत्नपार्क, वर्तमानको भोगाइ र सौन्दर्य सबैलाई कवयित्रीले सजाएकी छन् । स्मृति र वर्तमानको सुन्दर संयोगलाई यस कवितामा सुन्दर विम्बहरूको प्रयोग गरेर सजाइएको छ । शीर्षक ‘ज्याकारान्डाको शहर’ यस कृतिको पनि शीर्षक पूर्ण सामथ्र्यवान् र औचित्यपूर्ण रहेको छ । यस कविताले नै यस कृतिको ओज बढाएको छ । यो साँच्चीकै उम्दा कविता हो ।
‘बुद्ध नेपालमा जन्मिंदैमा
सबै ज्ञानी कहाँ हुन्छन् र ?
मन अशान्त छ भने
बाहिर शान्ति कहाँ पाइन्छ र ?’
समृद्धि शीर्षकमा रहेको कविताको शुरूआत यसरी प्रश्नबाट भएको छ । हाम्रो देशका केही विशिष्टहरूसँगै हामी पनि विशिष्ट हुनुपर्ने कविताको भाव रहेको छ । समृद्धि ल्याउनको लागि क्षमता र दक्षता आवश्यक पर्ने यसमा बताइएको छ । प्रश्नार्थक शैलीको यस कविताले मनमा अलिकति पृथकभाव अवश्य ल्याउँछ । ‘मौनता’ कविताले कोरोना समयको मौन अवधिलाई सम्झाएको छ र सो समयको त्रासदीको प्रतीकात्मक वर्णन गरेको छ । ‘माली’ र ‘फरक’ सामान्य कविता हुन् । ‘खुशी’ कवितामा आत्मपरक शैलीमा मानिसले खुशीको खोजी सर्वत्र र निरन्तर गरिरहेको यथार्थ प्रकट गरिएको छ । ‘झरी’ सामान्य कविता हो । ‘सुरक्षा’ कविताले सुरक्षामाथि प्रश्न गर्दै सबैलाई सुरक्षाको अनुभूति हुनुपर्ने बताएको छ । गीति शैलीमा लेखिएको ‘जीवनको गोरेटोमा’ कवितामा सुख–दुःख बाँडेर सँगै बाँच्नुपर्ने भावना अभिव्यक्त भएको छ । व्यङ्ग्यात्मक भाव भएको ‘ऐना’ कविता सानो भए पनि कलात्मक छ :
‘आफैंलाई नदेख्नेहरू
संसारलाई ऐना देखाउँछन्
आत्मसम्मान भत्काएर
सम्मानको धक्कु लगाउँछन्’ ।
‘समय’ र ‘यात्रा’ कवितापछि कविताकृतिमा रहेको ‘धरोहर’ले कान्तिपुरले अपेक्षाभन्दा फरक किसिमले विकास गरेको यथार्थ प्रस्तुत गरेको छ । ‘वर्षा र तिमी’मा प्रियतमाको सम्झना जहाँतहीं प्रकृतिमा आउने गरेको खुलासा गरिएको छ भने ‘याद’ र ‘निरन्तरता’पछि आएको ‘महसूस’ प्रश्नार्थक शैलीको कविता हो । ‘अनिदा रातहरू’, ‘शरणार्थी’, ‘निराशाभित्रको थोरै आशा’, ‘भेट’, ‘तिमीभित्र म भेटें’, ‘समय’, ‘प्रेम’, ‘जीजिविषा’ ‘डर’, ‘घमण्ड’, ‘निर्लज्ज’, ‘साउती’ र ‘चोट’ जस्ता कवितामा निराशा, कुण्ठा, आक्रोश तथा कोरोना पीडालाई स्थान दिइएको छ । ‘सोच’ कवितामा विश्वासघातीहरूको कमी नभएको भनिएको छ । ‘पूर्णचन्द्र’ निराशाबीच आशा देखेको कविता हो । ‘उडान’, ‘स्मृति’, ‘परदेशमा’ समसामयिक विषयमा लेखिएका रचनाहरू हुन् । राजनैतिक विषयवस्तु भएको ‘बेमौसमको पानी’ सामान्यस्तरको कविता भए पनि प्रस्तुति व्यङ्ग्यात्मक छ :
‘पुसको यो मध्य जाडोमा
सुदूर पूर्व पश्चिम गाउँले
गणतन्त्र अनुभूति गर्दैछ
बेमौसमी पानीले
फेरि समाजवाद सम्झेको छ’
शीर्षक ‘भरोसा’ रहे पनि विश्वास गर्ने ठाउँ नरहेको निराशावादी प्रस्तुतिमा धोका पाएको कुरा यसरी आएको छ–
‘भरोसाको डोरी चुँड्यो
आँसु बग्यो नदीसरि
पटकपटक भूmट बोल्यौ
विश्वास गरूँ कसोगरी ?’
‘बुवा’ एउटा समर्पण कविता हो । यो सलल बगेको छ । सरल र सरस यस कवितामा बुवाप्रतिको भाव र बुवाले निर्वाह गर्ने जिम्मेवारीलाई गहनरूपमा प्रस्तुत गरिएको छ । ‘शालिक’ आक्रोशको प्रस्फुटन हो । ‘मायालु’ र ‘नयाँ ?’ पछि आएको ‘छेपारो’ सरल र अभिधात्मक भए पनि मानवीय प्रवृत्तिमाथि मीठो व्यङ्ग्य गर्न सक्षम छ :
‘बलियो र शक्तिको घमण्डमा
पैसा र चाप्लुसीको भक्त तिमी देखेर
मेरो घरको भित्तामा छेपारो दङ्ग छ’
लैङ्गिकलगायत विभेदविरुद्ध ‘शक्ति’ एउटा प्रश्न बनेर उभिएको छ । ‘कसलाई दुःखेको छ मेरो देश ?’ विसङ्गतिमाथि असन्तुष्टि र आक्रोशको पोको बनेर प्रहार भएको छ । ‘बधाई’मा खेल र राजनीति तुलना गर्न लायक पो छ कि ? सफल व्यङ्ग्य बनेको छ । ‘परीक्षा’ पछि आएको ‘मलामी’ कविता निराशावादी भए पनि यो अंश सुन्दर र कलात्मक छ–
‘रहरहरूको मृत्युमा सुकाएका नयन
बन्जर बनेको यो मन–मस्तिष्कमा
फेरि कुनै रहर पलाउला कि भनेर
रहरका बीउ नै छर्न छोडेकी छु
विनाबीज उम्रने रहर र सपनाहरू
आजकल हरेक दिन मलामी जाने गरेकी छु’ ।
कृतिमा ‘पर्खाइ’ र ‘प्रीति’ कविताहरू सङ्कलित छन् । ‘भक्ति’ उपान्तिम कविता हो । ‘अब बस’ कविताले कृतिको समापन यसरी गरेको छ–
‘अब बस् … शान्ति कायम गर
अब बस् … रोक आफैंलाई
अब बस् … चोख्याऊ मनलाई
अब बस् … सुधार आफैंलाई’ ।
‘ज्याकारान्डाको शहर’ कविता आफैंमा एउटा महŒवपूर्ण कृति यस अर्थमा पनि हो कि रौतहटका बासिन्दाको साहित्यिक कृति तुलनात्मकरूपमा कम प्रकाशित हुन्छ । हुनत यसका कवयित्रीले आप्mनो जन्मस्थल काठमाडौंबारे कविताहरू लेखेकी छन् र रौतहटको भौगोलिक परिवेश जनाउने विशिष्ट कविता आउन सकेको छैन तर ठेगानामा रौतहट जनाइएको सन्दर्भमा भने यस कृतिलाई रौतहटेली मान्न सकिन्छ । अझ महिलाको हकमा भने रौतहटमा महिलाको कृति बिरलै प्रकाशित हुने गरेको छ । लक्ष्मी ‘रेशमी’को ‘ज्याकारान्डाको शहर’ कविताभित्रका कतिपय कविताहरू आभ्यासिक चरणका छन् भने कतिपय कविता अत्यन्तै उच्च कोटिका छन् । कृतिमा समसामयिक विषय र सन्दर्भ प्रस्तुत गरिएको छ । यो कृति समयको विम्ब बन्न पुगेको छ । भाषागत सरलताले कविता लेख्न चाहनेलाई भने मार्गनिर्देशन गर्न यो कृति पूर्णतया सक्षम छ ।
मधेस प्रदेशमा साहित्यिक गतिविधि निकै कम हुन्छ । यद्यपि पछिल्लो चरणमा भने केही सक्रियता देखिएको छ तर पनि अन्य प्रदेशको तुलनामा न्यून छ । यसमा पनि कृति प्रकाशनको क्रम अत्यन्तै गतिहीनजस्तै छ । राजधानीमुखी प्रवृत्ति बढेको छ । यस अवस्थामा साहित्यिक कृतिको प्रकाशन र पठन सराहनीय पक्ष हो । यस कृतिले पठन–संस्कृतिलाई केही बल दिने विश्वास लिन सकिन्छ । रौतहटमा नेपाली साहित्यको आधा आकाशमा यस कृतिको निकै ठूलो महŒव रहने छ । कृतिकार ‘रेशमी’ले अझ सशक्त काव्य रचना गरेर सिर्जनधर्मको पथ अझ फराकिलो बनाउन सक्ने अपेक्षा गर्न सकिन्छ ।