लन्डन, १९ मङ्सिर/एएनआई
बेलायतका प्रधानमन्त्री ऋषि सुनकले सोमवार देशमा बढ्दो अध्यागमनलाई रोक्न नयाँ कदमहरू चालिएको घोषणा गरेका छन् । प्रधानमन्त्री सुनकका ती नयाँ कदमहरूलाई अध्यागमन दर घटाउने सरकारको ‘कट्टरपन्थी कार्य’को रूपमा वर्णन गर्दै बेलायतलाई फाइदा पु-याउने सुनिश्चित रहेको निष्कर्ष निकालिएको छ ।
नयाँ उपायहरूका शृङ्खलाको रूपमा सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरूले जबसम्म स्नातकोत्तर अनुसन्धान पूरा गर्दैनन्, तबसम्म उनीहरूको परिवारलाई बेलायतमा ल्याउनबाट रोक लगाइनेछ । साथै यो कदमबाट दक्ष विदेशी कामदारहरूले देशमा काम गर्न भिसा थप्न चाहे न्यूनतम पारिश्रमिक बढाउनुपर्ने बाध्यता सिर्जना हुनेछ ।
प्रधानमन्त्री सुनकले भने– “अध्यागमन धेरै उच्च छ । आज हामी यसलाई घटाउन कट्टरपन्थी बनेर कारबाई गरिरहेका छौं । यी कदमहरूले बेलायतलाई फाइदा पु-याउने कुराको सुनिश्चित गर्नेछ ।
यस नयाँ प्रावधान अन्तर्गत स्नातकोत्तर अनुसन्धान डिग्रीमा नपुगेसम्म विदेशी विद्यार्थीहरूलाई आफ्नो परिवारलाई बेलायतमा ल्याउन प्रतिबन्ध लगाउनेछ ।
बेलायतमा कुल माइग्रेसन गत वर्ष उच्चस्तरमा पुगेको आधिकारिक तथ्याङ्कले देखाएको छ । यसले बेलायत सरकारलाई दबाब थपेपछि यस मुद्दालाई राजनीतिक विषय बनाइएको सिएनएनले उल्लेख गरेको छ ।
बेलायतमा सन् २०२२ मा छ लाख छ हजार मानिसको बसाइँसराइ भएको राष्ट्रिय तथ्याङ्कको कार्यालय (ओएनएस)ले जनाएको छ ।
त्यसैगरी, १२ लाख मानिस बेलायत प्रवेश गरेका छन् भने, झन्डै आधा सङ्ख्याले देश छोडेर गएका छन् ।
सिएनएनका अनुसार कन्जरभेटिभ सरकारहरूले बेलायतमा सर्ने मानिसहरूको सङ्ख्यामा ठूलो मात्रामा कमी ल्याउने वाचा गरे तापनि सहजरूपमा त्यसो हुन सकेको छैन । विशेषगरी ब्रेक्सिटको परिप्रेक्ष्यमा हेर्दा यसका समर्थकहरूले सिमानाहरू नियन्त्रण गर्न बेलायतलाई आवश्यक कदमको रूपमा यो पछिल्लो कदमलाई लिएका छन् ।
बेलायत आइपुगेका अधिकांश मानिस नौ लाख २५ हजार गैरइयू नागरिक रहेका र तीमध्ये १२ जनामा एकजनामध्ये एकजना शरण खोज्ने रहेको तथ्याङ्कले देखाएको छ । गैरइयू देशहरूबाट बेलायत बसाइँ सर्नेहरूमा कामको खोजी, अध्ययन र मानवीय उद्देश्य प्रमुख रहेको ओएनएसमा अन्तर्राष्ट्रिय आप्रवासन केन्द्रका निर्देशक जे लिन्डोपले उल्लेख गरेका छन् ।
यसैगरी, गत वर्ष बेलायतको अध्यागमन तथ्याङ्कका अनुसार सबैभन्दा धेरै भारतीय नागरिक बेलायतमा अध्ययन, कामको खोजी र पर्यटन भिसा बोकेर प्रवेश गरेका थिए ।
जून २०२२ को अन्त्यमा दुई लाख ५८ हजारभन्दा बढी भारतीय नागरिकले भ्रमण भिसा प्राप्त गरेका छन्, यो अघिल्लो वर्षको तुलनामा ६३० प्रतिशतले बढी हो । रासस