प्रस, वीरगंज, १८ मङ्सिर/
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनतालाई भ्रममा पार्न अनेक प्रयत्न भइरहेका बताएका छन् ।

एमालेले सञ्चालन गरेको झुलाघाट–चिवाभन्ज्याङ, समृद्धिका लागि सङ्कल्प यात्रा अभियान अन्तर्गत कर्णालीको सुर्खेतमा सोमवार आयोजित सभामा अध्यक्ष ओलीले जनतालाई भ्रममा पार्न र लरब-याउन अनेक खालका उत्ताउला कुरा भइरहेका र यस अवस्थालाई चिर्नुपर्ने बताए ।

उनले एमालेले साढे तीन वर्ष सरकार चलाउँदा जनतामा आत्मविश्वास बढाउने काम गरेको दाबी गर्दै सो अवधिमा सरकारप्रति भरोसा बढाएको थियो, विकासको लहर चलाएको थियो, देशमा सुशासन कायम गरेको थियो, समृद्धिको यात्रा अगाडि बढाएको बताएका थिए ।

उनले अहिले गठबन्धन सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए । क्विन्टलका क्विन्टल सुन विमानस्थलको भन्सारबाट छिरेर आउने गरेको बताउँदै तस्करीको यत्रो सञ्जाल इतिहासमैं कहिल्यै थिएन, अहिलेको गठबन्धन सरकारको बेलामा यस्तो अवस्था आएको उनले आरोप लगाए ।

अध्यक्ष ओलीले देशमा सामाजिक अराजकता बढेको र सांस्कृतिक अधोपतन भइरहेको तथापि गठबन्धनमा रहेका पार्टीहरू यसप्रति गम्भीर नभएको भन्दै वर्तमान गठबन्धन सरकारको आलोचना गरे । उनले अहिलेको अवस्था एमालेको लागि मात्र होइन सबैका लागि चिन्ताको विषय हुनुपर्ने बताए ।

उनले अहिले चालु आर्थिक वर्षको पहिलो चार महीनामा नै सरकारले कर्मचारीलाई तलब खुवाउन जनतासँग ऋण लिनुपरेको बताए । नेपालको इतिहासमैं यस्तो दुरवस्था कहिल्यै पनि आएको थिएन, देशको बचत ध्वस्त भएको, जनतामा गरीबी बढेर नैराश्यता छाएको, असन्तुष्टि बढेको, युवाहरू निराश र पलायन भइरहेको भन्दै यावत् कुरालाई रोक्न जरुरी भएको बताए ।

अध्यक्ष ओलीले देशको राजनीति बिग्रिंदै गएको भन्दै चिन्ता व्यक्त गरे । देशको राजनीति अन्योल र अराजकताबाट गुज्रिरहेको, कानूनको राज होइन, भ्रष्टहरूको राज र मनपरीतन्त्र चलिरहेको आरोप लगाए ।

सरकार राष्ट्र हित, स्वाभिमान र स्वाधीनताको रक्षा गर्न नसकेको बताउँदै गठबन्धनको सरकार राष्ट्रहितमा अड्न नसकेको भन्दै आलोचना गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here