ओमप्रकाश चौधरी, सेढवा, १८ मङ्सिर/
पर्साका ग्रामीण बासिन्दाका महिलाहरू अहिलेसम्म पनि पूर्णरूपमा स्वास्थ्य सेवा पाउनबाट वञ्चित नै छन् ।
पर्सा जिल्लाका महिलाहरू स्वास्थ्य सेवा अन्तर्गत सुरक्षित गर्भपतन सेवा पाउनबाट वञ्चित छन् । गर्भधारण भएको १२ हप्तासम्म गर्भपतन गर्ने कानूनी व्यवस्था रहे पनि पर्सा जिल्लाका ग्रामीण क्षेत्रमा भने यो सेवा उपलब्ध अझै भइनसकेको स्थानीयले बताएका छन् । ग्रामीण क्षेत्रमा यो सुविधा नभएको कारण सुरक्षित गर्भपतनका लागि वीरगंज धाउनुपरेको उनीहरूले बताए ।
वीरगंजको मेरी स्टोप्समा यो सेवा निश्शुल्क उपलब्ध भएकोले ग्रामीण क्षेत्रका महिलाहरू त्यही जाने गरेका छन् । मेरी स्टोप्सबाहेक सरकारी अस्पताल नारायणी र अन्य निजी अस्पतालहरूमा भने यही सेवा महिलाहरूले शुल्क तिरेर लिनुपर्छ ।
ठोरी, जीराभवानी, जगरनाथपुर, पटेर्वासुगौली, छिपहरमाई, धोबिनी गाउँपालिकालगायत जिल्लाका सबै स्थानीय तहमा स्वास्थ्य संस्था रहे पनि सुरक्षित गर्भपतन सेवा उपलब्ध नरहेको सम्बन्धित पालिकाका स्वास्थ्य शाखाले जनाएका छन् । सो सेवाका लागि तालीम प्राप्त स्वास्थ्यकर्मीहरूको अभाव रहेका कारण यो सेवा अझै सञ्चालन गर्न नसकिएको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।
ठोरी गापाका स्वास्थ्य शाखा प्रमुख रमेश थिङले सुरक्षित गर्भपतनसम्बन्धी दक्ष जनशक्ति नभएका कारण सेवा सुचारु नगरिएको बताए । सुरक्षित गर्भपतनसम्बन्धी तालीमका लागि प्रदेश स्वास्थ्य तालीम केन्द्रमा माग गरिएको थिङले बताए ।
जीराभवानी गापा–२ सेढवा स्वास्थ्य चौकीका इन्चार्ज ज्ञानकिशोर प्रसादले पाँच वर्षअगाडि यो सेवा सञ्चालनमा रहेको तर सम्बन्धित कर्मचारी सरुवा भएर गएपछि सेवा बन्द रहेको बताए ।
पोखरिया नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राजेश सोलेन्द्र मिश्रले नगर क्षेत्रभित्र पोखरिया अस्पतालमा मेडिकल र सर्जिकल सुरक्षित गर्भपतन गर्ने सेवा सञ्चालनमा रहेको बताए । उनले मासिक ५५ देखि ६५ जनाको सुरक्षित गर्भपतन गराउँदै आएको बताए । उनले पोखरिया अस्पतालमा नगरपालिकाबाहेक अन्य पालिकाहरूबाट पनि महिलाहरू सुरक्षित गर्भपतनका लागि आउने गरेको बताए ।
पोखरियामा सेवा लिन नसक्नेहरू भने सीमावर्ती भारतीय बजार इनर्वा, भङ्गाहा, मैनाटाँड, सिकटालगायतका बजारमा यो सेवा जोखिमपूर्णरूपमा लिन बाध्य छन् । स्थानीयहरूले सीमावर्ती क्षेत्रमा यो सेवा सर्वसुलभ उपलब्ध हुने गरेकोले जाने गरेको बताएका छन् । भारतीय सीमा क्षेत्रमा यो सेवा लिन जानेहरूमध्ये केही महिलाहरूको मृत्यु पनि भएको छ ।