प्रस, वीरगंज, १८ मङ्सिर/
वीरगंज महानगरपालिकाले वडा कार्यालयहरूको कार्य अझ प्रभावकारी बनाउन सुशासन तथा संस्थागत विकास समितिले वडा समितिहरूको अनुगमनलाई निरन्तरता दिएको छ ।

वीरगंज महानगरपालिकाद्वारा गठित सुशासन तथा संस्थागत विकास समितिले सोमवार महानगरका चारवटा वडाको सेवाप्रवाहबारे अनुगमन गरेर जानकारी लिएको थियो । आज वडा नं १७, १९, २४ र २५ को अनुगमन गरिएको थियो ।

वडाहरूमा अझ प्रभावकारी कार्य तथा सेवा दिलाउन अनुगमन गरिएको समितिका संयोजक प्रदीप चौरसियाले बताए । वडामा कर्मचारीको उपस्थिति, सेवाप्रवाहको अवस्था, राजस्व सङ्कलनलगायतका विषयमा जानकारी लिएको समितिका संयोजक चौरसियाले बताए ।

कतिपय वडामा कर्मचारी अभाव हुँदा सेवाप्रवाहमा समस्या आएको र कतिपय स्थानमा राजस्व सङ्कलनमा समेत समस्या देखिएकाले वास्तविकता यकीन गर्न अनुगमन गर्दै आएको उनले बताए ।

वडामा सङ्कलन हुने राजस्व साप्ताहिकरूपमा दाखिला गराउनुपर्नेमा कतिपयले दाखिला नगरेको देखिएको र आगामी दिनमा यस्तो कार्य नदोहोरिने गरी संयन्त्र तयार गरिएको महानगरको प्रशासन महाशाखा प्रमुख राजकृष्ण ताम्राकारले बताए ।

३२ वटै वडामा दैनिकरूपमा अनुगमन गर्ने र अहिलेसम्म आधाभन्दा बढी वडाहरूको अनुगमन गरिसकेको उनले बताए ।

नगरप्रमुख राजेशमान सिंहले जनप्रतिनिधि रहने वडा कार्यालयमा नै सेवाग्राहीले सास्ती पाएको तथा राजस्व सङ्कलनमा समस्या देखिएको गुनासो आएपछि अनुगमन समितिलाई परिचालित गरी अनुगमन शुरू गराएको बताए ।

संयोजक चौरसियाको नेतृत्वमा प्रशासन महाशाखा प्रमुख ताम्राकार, नगरप्रमुखका सचिवालय सल्लाहकार हरि पोखरेल, प्रेस सल्लाहकार महेश दासलगायतको सहभागिता थियो ।

नगरप्रमुख सिंहले एक साताअघि महानगरका १७ वटा विषयगत समितिहरू भङ्ग गरेका थिए । तर सोही दिन वडाध्यक्ष चौरसिया संयोजक रहेको सुशासन समितिलाई भने कायम राखिएको नगरप्रमुखका प्रेस सल्लाहकार दासले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here