ओमप्रकाश चौधरी, सेढवा, १७ मङ्सिर/
पर्सा जिल्लाका किसानहरू परम्परागत अन्न उत्पादनका खेतीपाती छाडेर माछापालन व्यवसायमा लागिपरेका छन् । इन्धनको मूल्यवृद्धि, बीउबिजन, रासायनिक मल, कीटनाशक औषधि, सिंचाइ समस्या, उत्पादित वस्तुको उचित मूल्य नपाउनेलगायत समस्याका कारण किसानहरूले अन्न उत्पादन गर्न त्यागेर अहिले माछापालनतर्फ आकर्षण बढाउन थालेका छन् । पटेर्वासुगौली गाउँपालिका–५ देउरिया निवासी किसान भागवती चौधरी धान, गहुँलगायतका अन्न बाली उत्पादनमा विभिन्न खाले समस्यासँग जुध्नुपर्ने भएकोले अहिले दुई बिघा खेतमा पोखरी खनी माछापालन गरिरहेको बताए । खेतीपाती गर्दा लगानी अनुसारको प्रतिफल नआउने, लगानी नै जोखिममा पर्ने र प्रगति गर्न नसकेर अहिले माछापालन व्यवसायमा लागेको बताए । कृषि कर्म अन्तर्गत अन्नबाली गर्दा मल, बीउबिजन, बजारीकरणको समस्यासँगै धेरैजसो युवा रोजगार गर्न विदेश पलायन भएकाले ज्याला मजदूरीका लागि झनै समस्या हुने गरेको बताए । यावत समस्याका कारण आफूले माछापालन व्यवसाय शुरू गरेको चौधरीको भनाइ छ ।

पर्सागढी नगरपालिका–३ बागवन्नाका किसान हरिन्द्र चौधरी पनि अन्न उत्पादन त्यागेर माछापालनमा लागिपरेका छन् । उनले अहिले ३० बिघा पोखरीमा माछापालन गर्दै आएको बताए । माछापालनबाट वार्षिक रु दुई करोडको कारोबार भइरहेको बताए । चौधरीले उत्पादित माछा पर्सा जिल्लाका साथै हेटौंडा, चितवन, काठमाडौं, पोखरालगायतका शहर पठाउने गरेको बताए । उनले अन्नबालि वार्षिक दुईपटक र सिंचाइ सुविधा भएका स्थानहरूमा तीनपटक गर्दै आए पनि माछापालन भने वार्षिक चारपटक हुने गरेकाले पनि किसानहरू यसतर्फ आकर्षित भएको बताए । उनले चालू वर्षमा माछाको दानाको मूल्य बढेको तर माछाको मूल्य नबढेको भन्दै गुनासो गरे । उनले प्रतिकिलो रु २४ मा पाइने दाना अहिले दोब्बरी भएको बताए ।

छिपहरमाई गाउँपालिका–४ बन्जारीका नरेश साहले तीनअघि अन्य खेतीपाती छाडेर माछापालन व्यवसाय शुरू गरेको बताए । उनले पछिल्ला समयमा लोकल माछाको बजार बढ्दै गएको बताए । पर्सा र बारा जिल्लाका माछाहरूले बजार ढाँक्दै गएको र भारत आन्ध्र प्रदेशबाट आउने माछाको माग घट्दै गएपछि अहिले लोकल माछाको बजारमा एकक्षत्र राज भएको बताए । माछाको माग यति छ कि व्यापारीहरू पोखरीमैं खरीद गर्न पुग्ने गरेका उनले बताए । साहले पाँच बिघा जग्गामा पोखरी खनेर माछापालन गर्दै आएका छन् र वार्षिक बीस लाख बढीको माछाको कारोबार गर्दै आएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here