प्रस, वीरगंज, १७ मङ्सिर/
वीरगंज महानगरपालिका–६ आदर्शनगरस्थित राधादेवी मेमोरियल लायनेस स्कूल अबदेखि वीरगंज महानगरपालिका र लायन्स क्लबले संयुक्तरूपमा सञ्चालन गर्ने भएका छन् ।

सो विद्यालय सञ्चालनको लागि ४२ वर्षअघि मुरलीधर शर्माकी आमा स्व राधादेवीले लायनेस क्लबलाई विद्यालय सञ्चालनका लागि जग्गादान गरेकी थिइन् । पछिल्लो समय विद्यालय सुस्त गतिमा सञ्चालन भएको थियो । हाल सो विद्यालयमा करीब दुई सय बालबालिका अध्ययनरत छन् ।

लायनेस क्लबले पनि खासै वास्ता नगरेको कारण विद्यालयको पठनपाठन प्रभावित हुँदै आएको थियो । विद्यालयलाई पुरानै लयमा पु-याउनका लागि महानगरले लायनेस क्लबसँग सहकार्य गरेर अगाडि बढ्ने जिम्मेवारी उठाएको हो ।

नगरप्रमुख राजेशमान सिंहले बेवारिसे अवस्थाबाट गुज्रिरहेको विद्यालयको लायनेस क्लबसँग सहकार्य गरेर व्यवस्थापन गर्ने बताए । उनले विद्यालय निर्माणको लागि जग्गादान गर्ने राधादेवीलाई स्मरण गर्दै उनका छोरा मुर्लीधर शर्मा र बुहारी विमलादेवी शर्मालाई दोसल्ला ओढाएर प्रशंसापत्रसहित अभिनन्दन गरे । उनले जग्गादाता परिवार लायनेसको सोच अनुसार पठनपाठनको व्यवस्था गर्ने बताए ।

कार्यक्रममा वीरगंज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष अशोक बैदले बेवारिसे अवस्थामा रहेको विद्यालयलाई पुनर्जीवन दिन महानगरले थालेको कदमको सराहना गरे ।

विद्यालय सञ्चालनका लागि २०३८ असार १५ गते सात कट्ठा पाँच धुर जग्गा विद्यालयको नाममा रजिस्टर्ड गरिएको थियो तर केही वर्षअघि सो विद्यालयलाई दान गरिएको जग्गाको विषयलाई लिएर दाता परिवार र लायनेसबीच मतभेद बढेको थियो । दाताले लायनेस क्लबले विद्यालय सञ्चालनमा रुचि नदेखाएको र विद्यालयले आशाप्रदरूपमा गति लिन नसकेको भनेर असन्तुष्टि जाहेर गरेपछि विवाद बढेको थियो । विद्यालय सञ्चालनको अभिभारा महानगरले लिने भएपछि दाता परिवारका शर्माले सन्तुष्टि जाहेर गरेका छन् ।

लायन्स क्लब अफ वीरगंजका अध्यक्ष पप्पु श्रीवास्तवको अध्यक्षतामा भएको कार्यक्रममा महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, वडाध्यक्ष जयप्रकाश साह, प्रदीप चौरसिया, लायन्स क्लब अफ वीरगंजका पूर्वअध्यक्ष बलराम श्रेष्ठ, छेदुप लामा, विनीत जयसवाल, ग्रीनसिटी सामुदायिक सेवा केन्द्र, आदर्शनगरका अध्यक्ष प्रकाश खेतानलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here